Skip to content

बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैनः अर्थमन्त्री

nabil bank

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।  

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे । मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट गरे ।  

‘बैंकहरुबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कपादी स्वीकार्य हुन सक्दैन ।’ मन्त्री पुनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको भन्दै बैंकहरु जत्तिको व्यवस्थित रुपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे । ‘नेपालमा यदि कुनै संस्था व्यस्थित रुपमा सञ्चालनमा छ भने त्यो बैंकिङ क्षेत्र हो। यो हामीले भनेको होइन । 

अन्तर्राष्ट्रिय संस्थाहरुले अध्ययन गरेर निकालेको निस्कर्ष हो’, मन्त्री पुनले भने, ‘आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था छैन ।’ कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए । ‘कोही पनि व्यक्ति तथा परिवार कानून र संविधानभन्दा माथि छैन । 

एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न मिल्दैन । एउटा व्यक्तिले गल्ती गर्दा सिंगै परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति समाजमा घातक रुपमा अघि आएको छ’, उनले भने, ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन् । तर, सम्बन्धित सेक्टरमा काम गर्ने सबैलाई आरोपित गर्न मिल्दैन ।’ 

बैंकिङ क्षेत्र र व्यवस्थाविरुद्ध एउटै प्रवृत्तिले अनास्था फैलाएको टिप्पणी उनको थियो । सानातिना कमजोरी औंल्याएर राजनीतिक प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने तथा मिलेर बसेको समाजलाई बिखण्डन गर्न खोज्ने प्रवृत्तिसँग सरकारको सहमति नरहेको मन्त्री पुनको प्रष्टोक्ति थियो । मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताए । 

 ‘आफ्ना महत्वाकांक्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति, मिलेर बसेको समाजलाई बिखण्डन गर्न चाहने धार्मिक र सामाजिक अतिवादी प्रवृत्ति र दुनियाँभरका उदाहरण दिएर आफ्नो नेतृत्वलाई सराप्ने घातक प्रवृत्तिसँग हाम्रो सहमति छैन’, मन्त्री पुनले भने,  ‘जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच र प्रवृत्ति राख्छ त्यससँग हाम्रो सहमति छ ।’ मन्त्री पुनले व्यवस्था कार्यान्यवनका क्रममा प्रणालीभित्र भएका कमजोरीबारे समीक्षा गर्न भने तयार रहेको उल्लेख गरे । 

 नेपाली समाजमा सबै राजनीतिज्ञ, बैंकर्स, निजी क्षेत्र, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्यो भाष्य स्थापित गर्न खोजिएकामा समयमै सबै सचेत हुनुपनें औंल्याए । राजनीतिक दल र नेताहरुले नेपालमा धेरै सकारात्मक काम गरेको भए पनि त्यसको कहिल्यै चर्चा नहुने गरेको उनको टिप्पणी थियो । ‘राजनीतिज्ञ सबै बेठीक हुँदैनन् । 

रानजीतिक प्रणालीमा राजनीतिक दल र नेताहरुले धेरै राम्रा काम पनि गरेका छन् तर त्यसको कतै चर्चा हुँदैन । नकारात्मक मात्र चर्चा हुन्छ ।’  नेपाली समाजमा एकले अर्कालाई लागी र निन्दा गर्ने प्रवृत्ति झांगिएको भन्दै मन्त्री पुनले त्यसको निस्कर्ष कोही पनि ठीक छैन भन्ने आउने औंल्याए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi