Skip to content

एक महिनामा करिब १ प्रतिशत बिन्दुले बढ्यो मुद्रास्फीति

nabil bank

काठमाडौं । माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत पुगेको छ। गत पुस महिनामा २.४२ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति माघमा बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा तुलनामा भने मुद्रास्फीति घटेको छ । अघिल्लो आर्थिक वर्षको माघ महिनामा मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२÷८३ को पहिलो सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८६ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशतले बढेको छ। घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले वृद्धि भएको छ। तर दाल तथा गेडागुडी उप–समूहको सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क २१.९८ प्रतिशतले बढेको छ। शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले मूल्य बढेको छ। सञ्चार उप–समूहको सूचकाङ्क भने ०.०८ प्रतिशतले घटेको छ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको ३.५१ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा उच्च ५.१४ प्रतिशत मुद्रास्फीति देखिएको छ। कोशी प्रदेशमा ३.५३ प्रतिशत, बागमती प्रदेशमा ३.१० प्रतिशत, लुम्बिनी प्रदेशमा ३.२९ प्रतिशत र गण्डकी प्रदेशमा २.४२ प्रतिशत मुद्रास्फीति रहेको छ। कर्णाली प्रदेशमा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६४ प्रतिशत मुद्रास्फीति रहेको छ।

भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा वार्षिक बिन्दुगत मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ। तराईमा ३.६६ प्रतिशत, पहाडमा २.६८ प्रतिशत र हिमालमा २.५८ प्रतिशत मुद्रास्फीति रहेको छ।

यसैबीच २०८२ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४७ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ०.७२ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तुको ९.८३ प्रतिशत र पुँजीगत वस्तुको ३.२१ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेको छ।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहँदा सन् २०२६ जनवरीमा भारतको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi