Skip to content

देवघाट–हलेसी–माउन्ट एभरेष्ट मोटर र्‍याली

चितवन । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा०’ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्‍याली (प्रतियोगिता) आयोजना गर्ने भएका छन् । देवघाट–हलेसी–माउन्ट एभरेष्ट मोटर र्‍याली आयोजना गर्न लागिएको हो ।

 

मोटर टुरिजम तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको नासा बागमती प्रदेशका अध्यक्ष राजन पियाले बताए । पवित्र धार्मिक तीर्थस्थल देवघाटधामबाट सुरु हुने र्‍यालीले भरतपुर हुँदै हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको तीन सय २७ किलोमिटर दूरी पार गर्ने उनको भनाइ छ ।

 

मोटर र्‍याली रेसिङको विधाअनुसार टिडिएस र्‍याली (टाइम डिस्टेन्स स्पिड) अन्तर्गत गन्तव्यमा पुग्ने छन् । गन्तव्यमा पुग्नका लागि विभिन्न स्थानमा चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृतिअनुसार एभरेज स्पिड दिइने उनले बताए ।

 

त्यस्तै, मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ चालकहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्ने छन् । कार्यक्रममा २५ देखि ३० जना चालकलाई सहभागी गराउने योजना रहेको काडाका उपाध्यक्ष इन्द्र रेग्मीले जानकारी दिए ।

 

खोटाङको हर्कपुर सुनकोशी किनारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको रेग्मीको भनाइ छ । इच्छुक चालकहरुले अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । 

आगामी वैशाख ५ गते बिहान ८ बजेदेखि सुरु गरिने कार्यक्रमका विजेताहरुले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् । काडाका निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठका अनुसार सहभागी सबैलाई वैशाख ४ गते पूर्वप्रशिक्षण दिइने छ । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिक गरी एक सय २४ जना सहभागी हुनेछन् ।

 

दुई रात, तीन दिन लामो कार्यक्रममा सहभागीहरुलाई खाना तथा बस्ने व्यवस्था आयोजकले मिलाउने छ । सहभागीहरुलाई दुर्घटना बिमाको समेत व्यवस्था गरिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal