Skip to content

पठाओले अब नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पनि उपलब्ध हुने बस्न्यातले बताए । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ । 

त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ ।

‘नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेका छौँ,’ बस्न्यातले भने । बस्न्यातका अनुसार सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

‘राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्नुहुनेछ । राइडर बन्नेहरूले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।

 नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अङ्गभङ्ग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal