Skip to content

कालीकोटको तिला नदीमा बेलिब्रिज बन्दै

nabil bank

कालीकोट । कालीकोटको महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि तिला नदीमा बेलिब्रिज पुल निर्माणको काम हुन थालेको छ ।

गाउँपालिकालाई सडक सञ्जालसँग जोड्नका लागि खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडामा बेलिब्रिज निर्माण हुन थालेको हो । गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्न महावै–५ र खाँडाचक्र–८ को सीमा क्षेत्र सेरावाडास्थित तिला नदीमा बेलिब्रिज निर्माण काम थालिएको छ ।

महावै गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा पुल बन्न लागेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘तिला कर्णालीमा पुल नभएकाले गाउँमा सडक निर्माण भए पनि महावैको सिधा सडक सम्पर्क छैन’, उनले भने, ‘बेलिब्रज बनेपछि गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।’

तिला नदीमा पुल नभएकाले महावैका बासिन्दा राष्ट्रिय राजमार्गसँग जोडिन नपाएको अध्यक्ष सिंहले बताए । ‘दैलेखबाट सडक सञ्जालले महावै गाउँपालिका जोडिएको छ’, उनले भने, ‘तिला नदीमा पुल नहुँदा कर्णाली राजमार्गसँग जोडिएको छैन, अब बेलिब्रिज बनेमा दैलेख र कर्णाली राजमार्ग पनि जोडिने छन् ।’

प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले पुल निर्माणको ठेक्का खोलेको र रु दुई करोडमा खोलिएको ठेक्का डिएस निर्माण सेवा काभ्रेले १ करोड ८१ लाखमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालयका इञ्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताए । ‘चालू आर्थिक वर्षमा बेलिब्रिजको काम सम्पन्न गर्नुपर्नेछ’, उनले भने, ‘पुल निर्माणको काम चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

कर्णाली राजमार्गको खाँडाचक्र–२ सेरीघाटमा रहेको बेलिब्रिजलाई लगेर सेरावाडामा निर्माण गरिने कार्यालयले जनाएको छ । सेरीघाटमा पक्की पुल लागिसकेकाले त्यहाँको पुल नै सेरावाडा ल्याएर जोड्ने गरी सम्झौता भएको कार्यालयको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi