Skip to content

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको राससलाई जानकारी दिए ।

“गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ”, अधिकारीले भने । डीडीसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड रुपैयाँ, जनकपुर क्षेत्रमा एक करोड, हेटौँडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा रु चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख रुपैयाँ , धनगढी क्षेत्रमा एक करोड ५० लाख रुपैयाँ र काठमाडौँ क्षेत्रमा १३ करोड रुपैयाँ किसानको भुक्तानी गरेको हो ।

डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी छ करोड रुपैयाँ रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए । डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal