Skip to content

उपेन्द्र महतो र जीवा लामिछानेको खातामा विदेशबाट सबैभन्दा बढी पैसा आएको भेटिएपछि ……

काठमाडौं। नेपाल राष्ट्र बैंकले यो पटक आफ्नो वार्षिक उत्सवमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउने कम्पनी तथा बैंकलाई सम्मान गर्‍यो ।

गत आर्थिक वर्ष २०७९/८० मा धेरै रेमिट्यान्स भित्राएर सम्मान पाउने बैंकहरुमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् । गत आर्थिक वर्षमा आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ र नेपाल एसबीआईले १९.१ प्रतिशत भित्राएको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सिटी मनी ट्रान्सफर र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७।५, सीटीले १४।९ र ईसेवाले १२।१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् । रेमिट्यान्स सेवा शुरु गरेको छोटो समयमा इसेवाले आफूलाई अग्रणी कम्पनीको रुपमा आफूलाई अगाडि बढाउन सफल भएको हो ।

गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिएको थियो । अमेरिकी डलरमा ९ अर्ब ३३ करोड अमेरिकी डलर भित्रिएको थियो ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष रेमिट्यान्सको कारोबार गर्ने कम्पनी र बैंकको अध्ययन गर्दा एउटा तथ्य पत्ता लगायो । व्यक्तिगत तर्फ नेपालमा कसको नाममा सबैभन्दा बढी रेमिट्यान्स भित्रन्छ भन्ने । राष्ट्र बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा व्यक्तिगत रुपमा सबैभन्दा बढी रेमिट्यान्स गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु डा उपेन्द्र महतो र जीवा लामिछानेको बैंक खातामा भित्रिएको भेटियो ।

राष्ट्र बैंक स्रोतले कति रकम भित्रियो भनेर त्यो तथ्यांक भने दिए । तर,स्रोतका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी रेमिट्यान्स लामिछाने र महतोको बैंक खातामा आएको हो ।

महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन् । उनी एनआरएनएमा लगातार तीन कार्यकाल अध्यक्ष बने । लामिछाने एनआरएनएका पूर्व अध्यक्ष हुन् । अहिले जर्मनीमा बसेर व्यवसाय गर्छन् । महतो भने बसाई अहिले नेपालमा नै हुने गरेको छ ।

महतोको माछापुच्छ्रे बैंक,नेको इन्स्योरेन्स,मिडीसिटी,कान्तिपुर टेलिभिजन लगायत औषधी उद्योगहरुमा लगानी छ । महतो र उनको परिवार गरेर अहिले माछापुच्छ्रे बैंकमा करिब १५ प्रतिशत सेयर स्वामित्व छ ।

रसियामा व्यवसाय शुरु गरेर अहिले जर्मनीमा बसेर व्यवसाय गर्ने जीवा लामिछानेको व्यवसाय पनि देशमा फैलिएको छ । जर्मनीमा होटल क्षेत्रमा लगानी गरेका लामिछानेको नेपालमा सानिमा बैंक,बीमा कम्पनी,जलविद्युत्,कान्तिपुर टेलिभिजन तथा होटल क्षेत्रमा लगानी रहेको छ । सानिमा बैंकमा व्यक्तिगत तर्फ दोस्रो सबैभन्दा ठूलो सेयरधनीको रुपमा लामिछाने हुन् । उनको सानिमा बैंकमा ५.५१ प्रतिशत सेयर स्वामित्व छ ।

राष्ट्र बैंकले वार्षिक उत्सवमा बढी रेमिट्यान्स भित्राउने बैंक र रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई सम्मान गर्दा व्यक्तिगत तर्फ भित्राउनेलाई गर्नुपर्दा महतो र लामिछानेलाई गर्नुपर्ने रहेछ भनेर कर्मचारीहरुबीच चर्चा समेत चलेको थियो ।

“व्यक्तिगत रुपमा बढी रेमिट्यान्स भित्राउनेलाई सम्मान गर्ने नीति लिएको भए महतो र लामिछानेलाई सम्मान गर्नुपर्ने अवस्था हुन्थ्यो,”राष्ट्र बैंक स्रोतले भन्यो,“व्यक्तिलाई सम्मान नगर्ने नीति लिएपछि संस्थालाई मान सम्मान गर्ने कार्यक्रम भयो ।”

रेमिट्यान्स बढी भित्राएको विषयमा जीवा लामिछानेले त्यस्तो नहोला भन्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal