Skip to content
Prabhu

ठाकुरज्यूसम्म पर्यटन प्रवर्द्धन गर्न सडक निर्माण गरिँदै

जुम्ला । जुम्लाको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको ठाकुरज्यूसम्म आन्तरिक तथा बाह्य पर्यटनलाई सहज रूपमा पुग्न सडक निर्माण गरिने भएको छ । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले जिल्लाको गुठिचौर गाउँपालिकाले ठाकुरज्यूसम्म सडक निर्माण योजना अघि बढाएको हो ।

पर्यटकीय स्थान ठाकुरज्यूसम्म पुग्ने सडक सहज बनाउन पालिकाले योजना बनाएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । ‘बाटो नहुँदा आउँजाउँमा सास्ती खेप्दै आएका स्थानीयका साथै आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुरज्यूसम्म जाने सडक पूर्वाधार निर्माणलाई जोड दिएका छौं’, उनले भने ।

अध्यक्ष बुढाले यहाँको पर्यटन प्रवर्द्धनसँगै स्थानीयको जीवनस्तर सहज बनाउन सडक सञ्जाल विस्तार योजना बनाई काम थालिएको उनले जानकारी दिए। पर्यटन क्षेत्र आर्थिक समृद्धि, रोजगारी सिर्जनाका मुख्य आधार भएकाले सडक निर्माणलाई प्रथामिकतामा राखिएको उनको भनाइ छ ।

पालिकाको एक मात्र पर्यटन क्षेत्र रहेकाले ठाकुरज्यूलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकारले पहल थालेको अध्यक्ष बुढाले बताए ।

कामको गुणस्तर, समयमै काम सक्न नियमित अनुगमनलाई विशेष जोड दिने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी भण्डारीले बताए । गुठिचौरको पर्यटन प्रबर्द्धनका लागि सङ्घ र प्रदेश सरकारसँग थप बजेटको माग गरिएको उनले जानकारी दिए ।

गुठिचौरको लाग्ना हुँदै ठाकुरज्यू जोड्ने सडकका लागि २८ लाख ४० हजार रुपैयाँ लाग्ने अनुमानसहित बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय ध्रुव राज गिरीले बताए।

अहिले सडक निर्माण भइरहेको गाउँपालिका प्राविधिक शाखा प्रमुख मीनबहादुर भण्डारीले बताए । उनका अनुसार के एण्ड पी निर्माण सेवा डोल्पाले ठेक्का लिएको छ ।

कूल एक करोडको खुला प्रतिस्पार्धामा ठेक्का आह्वान भए पनि निर्माण व्यवसायीले घटेर २८ लाख ४० हजार रुपैयाँमा सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार लाग्नाबाट ठाकुरज्यूसम्म पहिलो चरणमा तीन हजार पाँच सय मिटर निर्माण हुनेछ ।

पहिलो वर्ष ट्र्याक खोल्ने र आगामी वर्षमा स्तरवृद्धि गरेर पर्यटन र स्थानीयवासीलाई ठाकुरज्यूसम्मको यात्रा सहज हुने गरी निर्माण गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal