Skip to content
Prabhu

आगामी आवका लागि हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ४३ करोडको बजेट

मनहरी । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख ७१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आइतबार १५औँ नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात् १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गरेको छ । उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख रुपैया, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैया, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेको छ । उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैया, आर्थिक विकासतर्फ सात करोड ५६ लाख रुपैया, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख रुपैया, वातावरण तथा विपद् व्यवस्थापनतर्फ तीन करोड १२ लाख रुपैया, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि ४० करोड ६२ लाख रुपैया, सुशासन तथा संस्थागत विकासतर्फ दुई करोड ५१ लाख रुपैयाविनियोजन गरिएको समेत बानियाँ जानकारी दिए।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड रुपैया, खानेपानीको महसुल भुक्तानीका लागि दुई करोड आठ लाख रुपैया, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि एक करोड ७२ लाख रुपैया, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि दुई करोड रुपैया विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

आजको नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१÷०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal