Skip to content
Prabhu

कपडा उद्योगमा निर्भर बंगलादेशको अर्थतन्त्र,  के होला ७५ खर्बको बजार ?

एजेन्सी । बंगलादेश विश्वको द्रुत गतिमा अघि बढिरहेको  फेशन उद्योगको महत्वपूर्ण केन्द्र बनेको छ ।  यहाँका कपडा कारखानाहरूले एच एण्ड एम, जीएपी र जारा जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि निर्यात गर्दै आएका छन् ।
यसले तीन दशकको अवधिमा बंगलादेशलाई संसारका गरिब मुलुकबाट तल्लो–मध्यम आय भएको राष्ट्रमा रूपान्तरण गरेको छ । तर, करिब ७५ खर्ब रुपैयाँ बराबरको कपडा उद्योग अहिले अनिश्चित भविष्यको सामना गरिरहेको छ ।
गत अगस्टमा प्रधानमन्त्री शेख हसिनाको सरकारलाई आन्दोलनले अपदस्थ गरेपछि उत्पन्न अस्थिरताले देशभरि हिंसात्मक घटना निम्त्यायो । सयौं मानिसको ज्यान गएको यस आन्दोलनका क्रममा कम्तीमा चारवटा कारखानामा आगजनी गरिएको थियो भने देशव्यापी इन्टरनेट बन्दीले उद्योगहरूलाई ठूलो धक्का लागेको छ ।
यसको असर अझै जारी छ, जसका कारण ढाका बाहिर रहेका ६० भन्दा बढी कारखानाहरू बिहीबारदेखि बन्द हुने सम्भावना छ । कपडा उद्योगका कामदारहरूले उचित तलब र अन्य सुविधाको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
बंगलादेशमा जनप्रदर्शनले देशलाई अस्तव्यस्त बनाएपछि सरकार ढलेको थियो। यस घटनाक्रमले बंगलादेशको कपडा उद्योगमा ठूलो असर गर्ने देखिएको छ । बंगलादेश कपडा निर्माता तथा निर्यातकर्ता संघका निर्देशक मोहिउद्दिन रुबेलले पछिल्लो घटनाले अन्तर्राष्ट्रिय ब्रान्डहरूको आत्मविश्वासमा नकारात्मक प्रभाव पर्ने बताए । उनले भने, “अब धेरै ब्रान्डहरूले बंगलादेशमा लगानी गर्नु उचित छ कि छैन भनेर सोच्न सक्छन् ।”
यसबाहेक, राजनीतिक अस्थिरताको कारण यस वर्षको कपडा निर्यातमा १०–२० प्रतिशत गिरावट आउने अनुमान गरिएको छ, जुन ठूलो झटका हो । कपडाले बंगलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशत हिस्सा ओगट्ने भएकाले यसबाट देशको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ ।
बंगलादेशको कपडा उद्योगले यसअघि पनि विभिन्न समस्याहरू झेलेको थियो । बालश्रम, घातक दुर्घटनाहरू, र कोविड–१९ महामारीको प्रभावले उद्योगलाई कमजोर बनाएको थियो । चुलिँदो उत्पादन लागत र घट्दो मागले कपडा उद्योगलाई थप चुनौती दिएको थियो । निर्यात आम्दानी घट्दा विदेशी मुद्रा सञ्चितिमा पनि कमी आएको छ।
पूर्वाधार निर्माणमा अत्यधिक खर्च र बैंकिङ प्रणालीमा देखिएको समस्याले अर्थतन्त्रलाई अस्थिर बनाएको थियो। तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निकट व्यापारीहरूले ऋण नतिरेका कारण बैंकहरू कमजोर भएका थिए । देशका नयाँ केन्द्रीय बैंक गभर्नर डा अहसान मन्सुरले वित्तीय प्रणालीमा भएको अनियमिततालाई योजनाबद्ध लुट भन्दै सुधार गर्नुपर्ने बताएका छन्। उनले बंगलादेशको विदेशी दायित्व पूरा गर्नका लागि थप वित्तीय सहयोगको आवश्यकता रहेको स्पष्ट पारेका छन्।
कपडा उद्योगका व्यवसायी महबुबुर रहमानले बंगलादेशको विदेशी मुद्रा सञ्चितिमा आएको कमीले आयातको समस्या निम्त्याएको बताए । “हामीसँग पर्याप्त डलर नहुँदा भारत र चीनबाट यार्न आयात गर्न समस्या भइरहेको छ”, उनले भने ।
तर, बंगलादेशको सबभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । शेख हसिनालाई अपदस्थ गर्न भएका आन्दोलनमा विद्यार्थीहरूको ठूलो संख्यामा सहभागिता थियो । उनीहरू राम्रो रोजगार अवसरको अभावबाट निराश थिए ।
विद्यार्थीहरूले राम्रो रोजगारको माग गर्दै गरेका आन्दोलनमा सहभागी भएका केही कामदारहरूले तलब अत्यन्तै न्यून भएकाले ऋण लिएर बाँच्नुपर्ने अवस्था आएको बताए । संघकी नेतृ मारियाले तलब दोब्बर गर्नुपर्ने माग राख्दै भनिन्, “हामीले अब न्यूनतम तलबभन्दा बढीको माग गरिरहेका छौं ।”
देशका नयाँ अन्तरिम नेता नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले सुधारका लागि प्रतिज्ञा गरेका छन् । उनले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजाने र भ्रष्टाचारमुक्त बनाउने योजना ल्याउने बताएका छन् । तर, उनका अगाडि चुनौतिहरू विशाल छन्, जसमा निष्पक्ष निर्वाचन, आर्थिक स्थिरता र नीतिगत निर्णयमा प्रभावशाली व्यक्तिहरूको हस्तक्षेप रोक्नुपर्ने रहेको छ । अहिले बंगलादेशले फेशन उद्योगमा मात्र निर्भर नगरी अर्थतन्त्रको विविधीकरण गर्ने खाँचो भएको जानकारहरू बताउँछन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal