काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नागरिक लगानी कोषको नाफा साढे १३ प्रतिशतले बढेको छ । कोषले सार्वजनिक गरेको चालु आवको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा १३.६२ प्रतिशले नाफा वृद्धि भएको हो ।
कोषले चालु आवको पहिलो तीन महिनामा ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कोषको यस्तो नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो । कोषले असोज मसान्तसम्म सेवा शुल्क र कमिशनबाट ३९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । जसमा अघिल्लो वर्षको तुलनामा १८.८६ प्रतिशत वृद्धि भएको देखिन्छ । यस्तै, कुल आम्दानी ५१ करोड ७० लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.६० प्रतिशतले बढेको हो । कोषको ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । कुल खर्च भने ९.१९ प्रतिशत वृद्धि भएर ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
कोषको चुक्ता पुँजीमा १४ प्रतिशत वृद्धि भई ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यता जगेडा कोषमा भने २१.५६ प्रतिशत कमी आई १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँमा झरेको छ । कोषको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्