Skip to content
Prabhu

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१ जारी, इन्भेष्टमेन्ट कम्पनीमा सेयर लगानी गर्ने एनआरएनका लागि यस्तो मापदण्ड निर्धारण

nabil

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका २०८१ जारी गरेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका जारी गरेको हो ।

बोर्डले निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था गरेको छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था निर्देशिकामा राखिएको छ । सेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पुँजीको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र सेयरको निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हुनेछन् ।

सेयर निष्कासनको लागि बिक्री खुला भएको अवधिमा भवितव्य वा अन्य कुनै कारणबाट स्वीकृत विवरणपत्रमा उल्लिखित विवरणमा तात्विक असर पर्ने गरी परिवर्तन भएमा सम्बन्धित सेयरको लागि आवेदन लिने कार्य स्थगन गरी त्यस्तो घटना र सोबाट परेको प्रभाव तथा परिवर्तन सम्बन्धी विवरण सम्बन्धित लगानीकर्ताको जानकारीको लागि निष्कासनकर्ता कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ र सो कुराको जानकारी बोर्डलाई समेत गराउनु उल्लेख गरिएको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने सेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । निष्काशन गरिएको सबै सेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको बिक्री खुला गरिने दिनभन्दा कम्तीमा ७ कार्य दिन अगाडि सबैको जानकारीको लागि आव्हानपत्र राष्ट्रिय दैनिक पत्रिका र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ । त्यसको जानकारी बोर्डलाई गराउनु पर्नेछ । प्रकाशन गरिने आव्हानपत्र वा निष्कासन सम्बन्धी कुनै सूचनाको बारेमा सो सूचना प्रकाशन गरिने मितिभन्दा कम्तीमा एक कार्य दिन अगाडि बोर्डलाई जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।

आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ । गैरआवासीय नेपालीको लागि हितग्राही खाता खोल्दा निक्षेप सदस्यले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछ ।

आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले गैरआवासीय नेपालीका लागि विद्युतीय माध्यमबाट सेयर आवेदन दिने व्यवस्था गर्न सक्नेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्काशन गरेको सेयर बाडँफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal