Skip to content

कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

बागलुङ । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६७÷६८ देखि सुरु भएको आयोजनाअन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र बागलुङको जैमिनी नगरपालिका–८ को सिमाना पालुङखोलादेखि मालढुङ्गासम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।

Hyundai

उक्त खण्डमा दुईवटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इञ्जिनियर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्रे भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रेका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उनको भनाइ छ ।

पालुङखोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का÷कृष्ण÷बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इञ्जिनीयर खत्री बताए। उनले भने, ‘बागलुङको दुईवटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुनसकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि कामचाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्रे भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मीयाम सुरु भयो भने काम हुने छ ।’

कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ। तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुर्याउने उनको भनाइ छ ।

‘कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीनवटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरवाहसँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास हुँदै गएको छ,’ उनले भने, ‘अब गाउँमा उत्पादन भएका वस्तु सहज रुपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइँसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरुले राख्नुपर्छ ।’

नवलपुरको गैंडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवाह र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइ दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्