काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा २४ करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २४ करोड १४ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको नाफा गत आवको भन्दा ६८९.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधमिा ३१.९६ प्रतिशत र कुल खर्च ०.७७ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्