काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्कासनका लागि अनुमति दिएको हो ।
एनआईसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । यसका लागि, बैंकले ‘एनआईसी डिबेन्चर’ नामक ऋणपत्र ल्याउने योजना बनाएको छ । यसमा १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गरिनेछ । यसमा ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने, बाँकी २० लाख इकाइ सार्वजनिक निष्कासन गरिनेछ । यस ऋणपत्रको अवधि १० वर्ष हुनेछ र लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल हुनेछ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । यसका लागि बैंकले ‘आरबीबीएल डिबेन्चर’ नामक ऋणपत्र ल्याउनेछ । यसमा पनि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरिनेछ । यस ऋणपत्रको १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने बाँकी १० लाख इकाइ सार्वजनिक निष्कासन गरिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ र लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्