एजेन्सी । आइफोनको कभरको पछाडि क्यालिफोर्नियामा डिजाइन गरिएको भनेर लेखिएको हुन्छ । तर यसको निर्माण भने अमेरिकामा होइन, चीनमा गरिन्छ । र, यो धेरैलाई थाहा छ । चीनमा निकै सस्तो पर्ने भएकाले आइफोन बनाउने कम्पनी एप्पलले चीनमा आइफोनको उत्पादन गर्छन् ।
चीनमा उत्पादन हुने आइफोन अमेरिकामा सप्लाइ गरिन्छ । तर पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको ट्यारिफ नीतिका कारण एप्पल समस्यामा परेको । चीनमाथि ट्रम्प प्रशासनले लगाएको भन्सार शुल्क अहिले केही सामग्रीमा २४५ प्रतिशतसम्म पुगेको छ । यद्यपि आइफोन, ल्यापटप र अन्य केही इलेक्ट्रोनिक सामग्रीहरूलाई हाललाई छुट दिइएको छ । ट्रम्पले स्पष्ट रूपमा कसैले पनि छुट नपाउने बताइसकेका छन् । यसले एप्पलजस्ता कम्पनीहरूका लागि चिन्ता थपिएको छ ।
विश्वभरि हरेक वर्ष २२ करोडभन्दा बढी आइफोन बिक्री गर्ने एप्पलले उत्पादनको झन्डै ९० प्रतिशत चीनमा गरिरहेको छ । “चीनभन्दा बढी महत्त्वपूर्ण आपूर्ति शृंखला विश्वमा अरुमा नभएको एप्पलका सीईओ टिम कुकले अघिल्लो वर्ष एक अन्तर्वार्तामा बताएका थिए । एप्पलका १८७ प्रमुख आपूर्तिकर्तामध्ये १५० को उत्पादन इकाइ चीनमै रहेको एक अध्ययनले देखाएको छ ।
चीनको झेन्झौमा रहेको फक्सकनको आइफोन सिटी भनेर चिनिने कारखाना हाल विश्वकै सबैभन्दा ठूलो आइफोन उत्पादन केन्द्र हो । यही संयन्त्रलाई टेकेर एप्पलले सन् २००१ देखि चीनमा उत्पादन सुरु गरेको थियो । त्यही समयमा चीनले विदेशी लगानीकर्तालाई आमन्त्रण गर्दै थियो र एप्पललाई पनि अवसर खुला गरिएको थियो ।
तर अब यही आपूर्ति शृंखला एप्पलका लागि कमजोर बिन्दु बन्न थालेको छ । ट्रम्प प्रशासनले उत्पादन अमेरिका ल्याउन प्रोत्साहन दिँदै उच्च शुल्कमार्फत दबाब सिर्जना गरिरहेको छ । अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकले केही दिनअघि भने, “आइफोन बनाउने लाखौं मजदुर अब अमेरिका आउनेछन् ।”
यद्यपि विश्लेषकहरू यस्तो सोचलाई अवास्तविक बताउँछन् । एप्पल आपूर्ति शृंखला विशेषज्ञ एलि फ्राइडम्यानका अनुसार, “चीनबाट उत्पादन हटाएर अमेरिका लैजानु केवल कल्पना हो ।” उनका अनुसार एप्पलले चीनको कडाईका कारण महामारीपछिको समयमा भारत र भियतनामतर्फ ध्यान दिन थाले पनि अझै ठूलो हिस्सा चीनमै उत्पादन भइरहेछ ।
अब चिनियाँ कम्पनीहरू – हुवावे, ओप्पो र शाओमीले एप्पलको निर्माण संरचना प्रयोग गरेर प्रतिस्पर्धा गर्दैछन् । चीनभित्रै एप्पलको बजार हिस्सा घट्दै गएको छ । साथै, राजनीतिक दबाबका कारण एप्पलले एयरड्रप र ब्लुटुथ प्रयोगमा समेत सीमितता राख्नुपरेको छ ।
एप्पलले अमेरिकामा ५० अर्ब डलर लगानी घोषणा गरिसकेको भए पनि ट्रम्प प्रशासनले थप शुल्क लगाउने चेतावनी दिएकाले चुनौती अझै सकिएको छैन । “चीनमाथिको शुल्कले एप्पलको उत्पादनलाई पूर्णरूपमा असर नगरे पनि यसको आपूर्ति शृंखला र राजनीतिक सम्बन्धमा ठूलो दबाब पर्ने निश्चित छ” आपूर्ति शृंखला विज्ञ जिगर डिक्सिट भन्छन् ।
यसरी हेर्दा, अमेरिका–चीन तनावको बिचमा एप्पल मात्र होइन, विश्वभरका इलेक्ट्रोनिक उद्योगहरू अन्योलमा छन् । र, एप्पलका लागि राहतभन्दा पनि थप अस्थिरताको संकेत देखिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्