काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा हिमालयन बैंक लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अवधिको भन्दा ७४.३३ प्रतिशतले घटेको हो ।
बैंकको नाफा चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा ५० करोड रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ९४ करोड रुपैयाँबढी थियो । यो अवधिमा बैंकको सञ्चालन नाफा गत वर्ष साढे ३ अर्ब रुपैयाँबढी रहेकोमा चालू आवमा बढेर ३ अर्ब ८१ करोड नाघेको छ ।
यता बैंकको खुद ब्याज आम्दानी भने गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेकोेमा चालु आवमा घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब १० करोड रुपैयाँमा झरेको छ। २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ३६ करोड ऋणात्मक र रिजर्भमा २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । बैंकले २ खर्ब ३३ अर्ब ५३ करोडबढी ऋण दिएको छ भने ३ खर्ब १ अर्ब १३ करोडबढी निक्षेप संकलन गरेको छ। बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०८ पैसा, प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ भने वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्