देउखुरी । दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो ।
तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्साङ्कन सम्पन्न भएको बताए । उनका अनुसार वडा नं ६ मा करिब ७५ प्रतिशत नाप नक्साङ्कनको काम सकिएको छ ।
राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँचकार्य अगाडि बढाइएको बताए । अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नापनक्साङ्कनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताए । जिल्लाको शान्तिनगर, बबई, राप्ती र राजपुर गाउँपालिकामा जङ्गल क्षेत्रभित्र भूमिहीन दलित, सुकुम्बासीले वर्षौंदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए ।
उपमहानगरपालिका प्रमुख टीकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जानकारीदिए । भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्