Skip to content
Prabhu

 काठमाडौं घोषणा पत्र जारी गर्दै एनआरएनएको एकता महाधिवेशन सम्पन्न 

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित दिने एकता महाधिवेशन  नयाँ कार्यसमिति निर्वाचित गर्दै  सम्पन्न भएको छ । आइतबार काठमाडौंको हायात होटेलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनहरुबाट नेपालले धेरै आशा गरेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन हुन नसकेको थाहा पाउँदा दुःख लागेको बताए । उनले नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एनआरएनहरुसँग रहेको ज्ञान र सिप नेपालको उन्नतीमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नु पर्ने बताए । उनले एनआरएनका मुद्दाहरुलाई सम्बोधन गर्न आफ्नो दल सधैं सकारात्मक रहेको पनि उल्लेख गरे ।कार्यक्रममा पूर्व अध्यक्षद्वय देवमान हिराचन र भवन भट्टएनआरएन अभियन्ताहरुआरके शर्माडा. केशव पौडेलथर्क सेनएनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरउच्चस्तरीय समितिका सदस्यहरु कुल आचार्यविनोद कुँवर र रबिना थापाले शुभकामना दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई मुद्दामामिला फिर्ता लिन आग्रह गर्दै नयाँ कार्यसमितिले छुटेका साथीहरुलाई पनि समेट्न सक्दो प्रयास गर्ने जनाए । कार्यक्रममा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनले पारित गरेको ‘काठमाडौं घोषणा पत्र २०२५’ पढेर सुनाउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूहरुले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै विभिन्न वाधा व्यवधान खपेरै भए पनि तोकिएको समयभित्रै निर्वाचन गराएको जनाए । उनले नयाँ कार्यसमिति संस्थालाई एकजुट बनाएर अघि बढ्न सफल होस् भनि शुभकामना पनि दिए ।नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका थिए ।

२ दिने अधिवेशनमा संसारभरीबाट आएका सयौं डेलिगेट्सहरु सहभागि भएका थिए । अधिवेशन सम्पन्न भएसँगै सहभागीहरु कर्मथलो फर्किन थालेका छन् ।

गैर आवासीय नेपाली संघ एकताको महाधिवेशन काठमाण्डौ घोषणा २०२५

सम्मानित  सर्वोच्च अदालतको परमादेशको पालना गर्दै नेपाल सरकारसँग समन्वय गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा मे ३-४, २०२५ मा काठमाडौँमा  आयोजित एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। डेलिगेट्सहरुबीच व्यापक छलफल गरी यो महाधिवेशन निम्न घोषणा गर्दछ:

१. यो महाधिवेशन गैरआवासीय नेपालीहरु (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकता संबन्धि नेपालको संविधानले ब्यबस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी जतिसक्दो चाडो  विद्यमान ऐनकानूनमा संशोधन गर्न नेपाल सरकारलाई  हार्दिक अनुरोध गर्दछ।

२. यो महाधिवेशन विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो  मताधिकार प्रयोग गर्न पाउने छिटोभन्दा छिटो ब्यबस्था गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्दछ।

३. यो महाधिवेशन मध्यपूर्व लगायतका मुलुकमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीका यावत् समस्या र त्यहाँ अज्ञानवस जेलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

४. यो महाधिवेशन ब्रिटिश सेनाबाट सेवानिवृत्त पूर्व गोरर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुलाइ पूरा गर्न कूटनैतिक पहल तीव्र पार्न नेपाल सरकारलाई  आग्रह गर्दछ।

५. यो महाधिवेशन विगतका तीता मीठा अनुभवहरु बिर्सेर संस्थालाई एकजुट बनाउन एउटा समयबद्ध रोडम्याप तयार गरी अगाडी बढ्न नवगठित कार्यसमितिलाई अनुरोध गर्दछ।

६. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा आरजु राणा देउवा,   नेपाल सरकारका प्रतिनिधि लगायत राजनीतिक दल तथा नेतृत्व वर्गप्रति  हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसैगरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, निर्वाचन समिति, पर्यवेक्षक, संचारकर्मी तथा पत्रकारहरुलाई पनि  हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्