Skip to content

पाकिस्तानमा खाद्य संकटको गम्भीर अवस्था, १ करोडभन्दा बढी संकटमा

एजेन्सी । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सार्वजनिक गरेको २०२५ ग्लोबल रिपोर्ट अन फूड क्राइसिस अनुसार पाकिस्तानमा नोभेम्बर २०२४ देखि मार्च २०२५ सम्म गम्भीर खाद्य असुरक्षाको अवस्था कायम रहेको छ । रिपोर्टका अनुसार देशका बाढी प्रभावित ग्रामीण जिल्लाहरू बलोचिस्तान, सिन्ध र खैबर पख्तुनख्वाका ६८ जिल्लामा १ करोड १० लाख अर्थात् २२ प्रतिशत मानिसहरु संकटग्रस्त वा अझ बढी गम्भीर अवस्थामा रहेका छन् ।
अर्घाखाँची सिमेन्ट
Hyundai
रिपोर्टअनुसार तीमध्ये १७ लाख मानिसहरु आपतकालीन अवस्थामा छन् । सन् २०२४ को पिक अवधिमा ३ करोड ६७ लाख मानिसको अध्ययन गरिएकामा हालको विश्लेषणमा यो संख्या बढेर ५ करोड ८ लाख पुगेको छ, जसमा २५ नयाँ जिल्लाहरू समावेश छन् । यसले गर्दा सन् २०२४ र २०२५ का तथ्याङ्कहरू तुलनायोग्य छैनन् । नोभेम्बर २०२३ देखि जनवरी २०२४ सम्म १ करोड १८ लाख मानिस गम्भीर खाद्य असुरक्षामा थिए ।
रिपोर्ट अनुसार २०१८ देखि २०२४ को प्रारम्भसम्म बलोचिस्तान र सिन्धका विश्लेषण गरिएका क्षेत्रमा ग्लोबल एक्युट म्यालन्युट्रिशन दर १० प्रतिशतभन्दा माथि रहेको छ, केही जिल्लामा त ३० प्रतिशतभन्दा बढी छ । पोषण सेवाको पहुँच पनि न्यून रहेको र पर्याप्त कोष नहुनुले सेवा विस्तारमा बाधा पुगेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा भनिएको छ कि जलवायुजन्य संकट र खाद्य असुरक्षाले सन् २०२५ मा म्यालन्युट्रिशन (कुपोषण) को स्थिति अझ गम्भीर बनाउने जोखिम रहेको छ ।
मार्च २०२३ देखि जनवरी २०२४ सम्मको अवधिमा ६ देखि ५९ महिनाका २१ लाख बालबालिकामा गम्भीर कुपोषण देखिएको थियो । बालबालिकाको आहार गुणस्तर तथा परिमाणमा कमी रहेको र हिउँदे महिना (डिसेम्बर–फेब्रुअरी) मा खाद्यान्न मूल्य बढ्ने, रोजगारको अवसर घट्ने र बजारमा पहुँच कठिन हुने अवस्था रहेकोले संकट झनै बढेको हो ।
त्यस्तै, सिन्ध र खैबर पख्तुनख्वामा गर्भवती र स्तनपान गराइरहेका महिलाहरुमा पनि कुपोषण उच्च देखिएको छ, जसका कारण धेरैजसो शिशुहरु कम तौलका साथ जन्मिएका छन् । झाडापखाला, श्वासप्रश्वास संक्रमण र मलेरिया महामारीको रूपमा देखिएका छन्, जुन हिउँदमा झन् बढ्ने गरेको छ ।
सन् २०२२ मा आएको भीषण मनसुन बाढीका कारण विशेषगरी सिन्धमा र केही हदसम्म खैबर पख्तुनख्वा तथा बलोचिस्तानमा खानेपानी तथा सरसफाइ प्रणालीमा क्षति पुगेको थियो। सडक अबरुद्ध हुँदा स्वास्थ्य सेवामा पहुँच कठिन भएको र पोषण सेवाको पहुँच पनि अपर्याप्त रहेको उल्लेख गरिएको छ।
तल्लो–मध्यम आय भएको मुलुक पाकिस्तान विशेष गरी बलोचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तमा बाढी र खडेरी जस्ता मौसमजन्य संकटको उच्च जोखिममा छ । विगतमा सन् २०१७–१८ मा सिन्ध, २०१९ र २०२१ मा बलोचिस्तान तथा सिन्धमा विश्लेषण गरिएको थियो । सन् २०२२ को बाढीले सबै तीन प्रान्त प्रभावित हुँदा बलोचिस्तान र सिन्धका १६ जिल्लामा ४९ प्रतिशत मानिस गम्भीर खाद्य असुरक्षाको चपेटामा परेका थिए । सन् २०२५ मा पनि पाकिस्तानको विभिन्न ग्रामीण जिल्लामा खाद्य संकट र पोषण संकट गम्भीर रूपमा रहिरहेकाले तत्काल राहत, पोषण सेवा विस्तार र दीर्घकालीन समाधान आवश्यक रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टले औंल्याएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्