दमौली । शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरू गरिएको छ । लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान सुरु गरेको हो ।
फोहोरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच त्रिपक्षीय सम्झौता भई काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए । सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ ।
असोजभित्र फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताए । उनले भने, ‘प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहोर हुनेछैन । टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर संकलन गरिनेछ ।’
गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहरको व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो ।
१० वर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले दुई करोड चार लाख रुपैयाँको लगानी गरेको छ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहोरमैला व्यवस्थापनका विभिन्न उपकरण खरिद गरेर जडान हुनेछ । शुक्लागण्डकीले फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको छ ।
शुक्लागण्डकी नगरपालिकाका वन, वातावरण तथा फोहाेरमैला व्यवस्थापन शाखाका इञ्जिनियर भीम सुवेदीले असोजदेखि फोहर प्रशोधनको काम सुरू गरिने जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहरमैला संकलनका लागि ट्रष्ट निर्माण गरेको हो । ट्रष्ट निर्माणका लागि २४ लाख ७० हजार ८ सय ५१ खर्च भएको छ । त्यस्तै २०८०र८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख ५९ हजार ५३ रूपैयाँ खर्च भएको जनाइएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा फोहोरमैला संकलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्न ५२ लाख रुपैयाँ खर्च भएको थियोभने गत आवमा फोहोरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब ४५ लाखको लगानीमा तटबन्धन गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले हाल बजार क्षेत्रबाट संकलित फोहोर सेती नदी किनारमा फाल्दै आएको छ । केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापनमा सहज हुने नगरप्रमुख कृष्णराज पण्डितले बताए।






प्रतिक्रिया दिनुहोस्