काठमाडौं । नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ। विशेषगरी बर्दघाट, प्रतापपुर, सुस्ता र सरावल क्षेत्रबाट सयौं युवा, आमा–बुवा, दाजु–भाइहरू कांग्रेस प्रवेश गरेका छन्। पार्टी प्रवेशको यो लहरले क्षेत्रीय राजनीतिक माहोललाई थप तातेको छ।
नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पछिल्लो एक हप्तामा मात्रै उल्लेख्य संख्यामा पार्टी प्रवेश भएको जानकारी दिए। उनले युवादेखि विभिन्न पेशा र समुदायका व्यक्तिहरूको सहभागिताले बदलिएको कांग्रेसप्रति जनताको भरोसा देखिएको बताए।
चौधरीका अनुसार यो लहरले सम्पूर्ण पार्टी पंक्तिलाई ठूलो हौसला दिएको छ। ‘नयाँ र नवीन सोच खोजेका हरेक नेपालीको छाता नेपाली कांग्रेस हो। समाजका हरेक समूहको सोच र आवाज कांग्रेस पार्टीले बोकेको छ। अब चुनावमा कांग्रेसलाई जिताएर देश विकासमा जुट्नुपर्ने समय आएको छ,’ उनले भने।
स्थानीय तहमा देखिएको कांग्रेस प्रवेशको क्रमलाई राजनीतिक विश्लेषकहरूले आगामी निर्वाचन परिणामसँग जोडेर हेर्न थालेका छन्। कांग्रेस पक्षधरहरू भने यसलाई रूपान्तरित कांग्रेसप्रति आम नागरिकको समर्थनको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।







प्रतिक्रिया दिनुहोस्