काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेर ३३ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा ३३०२ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा गणना गर्दा उक्त सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रुपैयाँ रहेकोमा १६.७ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा २२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९२६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २६३ अर्ब ४ करोड रुपैयाँबाट ४२.८ प्रतिशतले बढेर ३७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
२०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।
विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि बढेको छ। २०८२ माघ मसान्तमा यी अनुपात क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत पुगेका छन्। २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।
माघ महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घटेको थियो। तर, मध्येपूर्वको तनावको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य बढ्ने सम्भावना रहेको छ ।











प्रतिक्रिया दिनुहोस्