Skip to content

गभर्नर डा. पौडेललाई अमेरिका जान बाटो खुल्यो, राष्ट्र बैंकमा एक जना डेपुटी अझै रिक्त

nabil bank

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त २ मध्ये १ जना डेपुटी गभर्नर नियुक्त गरेसँगै गभर्नर डा. विश्वनाथ पौडेललाई अमेरिका जान बाटो खुलेको छ ।

राष्ट्र बैंकमा विगत १ महिनादेखि डेपुटी गभर्नर रिक्त रहेको थियो । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको छ ।

केन्द्रीय बैंकमा हुने २ जना डेपुटी गभर्नरमा एक जनालाई अझै नियुक्त गर्न सकेको छैन । केन्द्रीय बैंक जस्तो निकायमा सरकारले लामो समयसम्म डेपुटी गभर्नर नियुक्त नगर्नुलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

यसअघिका बहुदल मिलेर बनेको सरकारले भागबन्डामा डेपुटी नियुक्त गर्दा पनि यति लामो समय लगाउने गरेको थिएन । तर, अहिले रास्वपाको एकल सरकार हुँदा पनि राष्ट्र बैंकमा एकै पटक डेपुटी गभर्नर नियुक्त गर्न नसक्दा पार्टी भित्रै नियुक्तीमा भागबन्डा खोज्न थालिएको हो की भन्ने चर्चा समेत सुरु भएको छ । अहिले रास्वपाको सरकार बनेपनि मन्त्रीमा प्रधानमन्त्री बालेन्द्र शाह समुहका ५० प्रतिशत र पार्टी सभापति रवि लामिछाने समूहका ५० प्रतिशत मन्त्री रहेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लामिछाने समूहका हुन् । डेपुटी गभर्नर नियुक्तीका लागि गभर्नरले सिफारिस गरेका ४ जनामध्ये २ जनाको नाम मन्त्रिपरिषमा लैजाने काम अर्थमन्त्री डा. वाग्ले कै हो । यसअघि पटक पटक बसेको मन्त्रिपरिषदका बैठकले पनि डेपुटी नियुक्त गर्ने धेरैको अपेक्षा रहेको थियो ।

त्यो पुरा हुन सकेन । आज बसेको बैठकले पनि पूर्णता दिन सकेन । यसले पनि कतै रास्वपा भित्र भागबन्डाको राजनीतिक बढेको हो की ? रास्वपा पनि अन्य दलजस्तै भागबन्डाबाट मुक्त हुन नसकेको हो की भन्ने चर्चा चल्न थालेको छ ।

केन्द्रीय बैंकमा डेपुटी एक महिनादेखि रिक्त हुँदा सबै काम गभर्नर डा. पौडेलको काँधमा परेको थियो । उनी कुनै कार्यक्रम पर्दा विदेश जान पाएका थिएनन् । बिदा बस्न समेत पाएका थिएनन् । राष्ट्र बैंक ऐनले डेपुटी गभर्नर नभएको खण्डमा गभर्नरले कार्यकारी निर्देशकलाई कायम मुकायम दिने व्यवस्था गरेको छैन । सरकारले आज पण्डितलाई डेपुटी बनाउने निर्णय गरेपछि गभर्नर पौडेलले कायम मुकायम दिएर आफु बाहिर जान पाउने भएका छन् ।

गभर्नर पौडेले सम्भवतः यही साता अमेरिका जाने भएका छन् । अमेरिकामा व्यवसाय गर्दै आएका नेपालीहरुको संस्था नेप्लिज चेम्बर अफ कमर्श अमेरिकाले आयोजना गरेको कार्यक्रममा त्यसतर्फ जान लागेका हुन् ।

चेम्बरको कार्यक्रममा अप्रिल १२ मा गभर्नर पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । सरकारले डेपुटी गभर्नर नियुक्त नगरेको भए उनी यो कार्यक्रममा जान पाउने थिएनन् । सरकारले डेपुटी नियुक्त गरेसँगै गभर्नर पौडेललाई अमेरिका जाने बाटो खुलेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi