Skip to content

के एआईले जागिर खाइदिन्छ, कस्ता जागिर सबैभन्दा बढी जोखिममा छन्, नेपालको अवस्था के छ ?

nabil bank
 काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स (एआई) अर्थात कृतिम बुद्धिमताले जागिर खाइदिन्छ ?
यसको प्रष्ट जवाफ हो खाइदिन्छ तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन् । नेपालका लागि असली खतरा एआई होइन—असली खतरा एआईको युगमा पनि पुरानो शीपमै अडिइरहनु हो । जसले एआईलाई अस्त्र बनाउँछ, उसका लागि यो युग, अवसरको हो । जसले आँखा चिम्लेर बस्छ, उसका लागि यो युग, विस्थापनको समय बन्न सक्छ ।
प्रश्न “के एआईले जागिर खान्छ ?” भन्ने होइन । प्रश्न हो—“के म एआईसँगै अगाडि बढ्न तयार छु ?” एउटा उदाहरण हेरौँ, एउटा सफ्टवेयर कम्पनीमा काम गर्ने एक व्यक्ति गत वर्षसम्म कन्टेन्ट राइटरको रूपमा समेत कार्यरत थिए । दिनभरि ब्लग पोस्ट, प्रोडक्ट डेस्क्रिप्सन, र मार्केटिङ कपी लेख्ने उनको काम अचानक आधा भयो—कम्पनीले च्याटजीपीटी, जेमिनाई, क्लाउडजस्ता जेनेरेटिभ एआई टुल प्रयोग गर्न थालेपछि उनको काम सँगै कमाई पनि घट्यो । पहिले पाँच जना राइटरको काम अहिले एआई जानेका दुईजनालाई पनि पुगेन ।
यो एक जना व्यक्तिको मात्र कथा होइन, यो एउटा युगको सुरुवात हो अर्थात एआईको युग । एआईका कारण काममा धेरै सजिलो भएको छ । घण्टौ लाग्ने काम मिनेटमै सकिने भएको छ । पाँचजनाले गर्ने काम एक जनाले सक्न थालिएको छ । जटिल समस्या सहजै समाधान गर्न सकिने भएको छ । जीवन झन् सहज बनाउन एआई एउटा युगान्तकारी प्रविधिका रुपमा उदाएको छ ।
संसारभरि के भइरहेको छ ?
विश्व आर्थिक मञ्चको अनुमान अनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन् । मञ्चको सन् २०२५ को ‘फ्युचर अफ जब्स रिपोर्ट’ अनुसार विश्वभरि ४१ प्रतिशत जागिर प्रदायकहरुले अर्को पाँच वर्षमा एआई स्वचालनका कारण जनशक्ति घटाउने योजना बनाइसकेका छन् । उनीहरू पाँच वर्ष कुर्ने छैनन् किनकी परिवर्तन अहिले नै हुन थालेको देखिन्छ ।
सन् २०२५ को पहिलो छ महिनामा मात्रै ७७ हजार नौ सय ९९ प्रविधिसम्बन्धी जागिर गुमेका थिए । गोल्डम्यान स्याक्सका अनुसार एआईले विश्वभरि ३० करोड जागिर प्रभावित गर्न सक्छ, जुन विश्वको कुल रोजगारको ९.१ प्रतिशत हो ।
कस्ता जागिर सबैभन्दा बढी जोखिममा छन् ?
पेनसिल्भानिया विश्वविद्यालय÷ओपन एआईका अनुसन्धानकर्ताका अनुसार वार्षिक ८० हजार डलरसम्म कमाउने उच्च शिक्षित वाइटकलर जब्स स्वचालनको सबैभन्दा बढी जोखिममा छन् । एआईको बढदो प्रयोगले दोहोरिरहने र नियममा आधारित जागिर जोखिममा पर्ने छन् । डाटा इन्ट्री, कलसेन्टर, ग्राहक सेवा, कन्टेन्ट राइटिड, अनुवाद, उद्योगमा दोहोरिरहने कार्य, ग्राफिक डिजाइन, सफटवेयर प्रोगामिङ र लेखा क्षेत्रका जागिर जोखिममा पर्ने छन् ।
एक अध्यनका अनुसार बैंकिङमा ५४ प्रतिशत जागिरमा एआई स्वचालनको उच्च सम्भावना छ । कानुनी क्षेत्रमा पारालिगलहरूले सन् २०२६ सम्ममा ८० प्रतिशत जोखिम सामना गर्नुपर्ने अनुमान छ । स्वास्थ्य क्षेत्रमा मेडिकल ट्रान्सक्रिप्सन स्वचालित भइसकेको छ । ब्लुमबर्गको अनुसन्धान भन्छ कि एआईले बजार अनुसन्धान विश्लेषकका ५३ प्रतिशत र बिक्री प्रतिनिधिका ६७ प्रतिशत कार्यहरू प्रतिस्थापन गर्न सक्छ । सेल्सफोर्सका सिइओ मार्क बेनियफका अनुसार एआईले अहिले कम्पनीको आधा काम सम्हाल्न थालेको छ । यसकारण उनले चार हजारभन्दा बढी ग्राहक सेवा कर्मचारी घटाएका छन् । बिएम कम्पनिले सयौँ मानव संशाधन भूमिकाहरू एआई च्याटबोटले प्रतिस्थापन गरेको छ ।
सन् २०२५ को सुरुदेखि नै एआई–प्रभावित क्षेत्रमा काम गर्ने २० देखि ३० वर्षका युवाहरूमा बेरोजगारी झण्डै तीन प्रतिशत बिन्दुले बढ्यो । एआईले पाँच वर्षभित्र आधा प्रवेश स्तरका बौद्धिक मानिने ‘वाइट कलर’ जागिर हटाउन सक्ने एन्थ्रोपिकका सिइओ डारियो अमोडेईले कठोर भविष्यवाणी गरिसकेका छन् ।
एआईले जागिर बढाउँछ 
निष्पक्ष विश्लेषणका लागि यो पक्ष पनि हेर्नु जरुरी छ । विशेषज्ञहरूका अनुसार एआईका कारण जागिर गुम्ने भन्दा सिर्जना हुने सङ्ख्या बढी हुनेछ । विश्व आर्थिक मञ्चको अनुमान अनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन्  तर एआईकै कारण १७ करोड नयाँ जागिर सिर्जना हुनेछन् । विश्वमा सात करोड ८० लाख जागिरको शुद्ध वृद्धि हुनसक्छ अर्थात एआईको बजार प्रभाव समग्रमा सकारात्मक हुनसक्छ । एआई इन्जिनीयर भूमिकाहरूमा १४० प्रतिशतभन्दा बढी माग वृद्धि भइरहेको छ ।
लेखक: लिलाराज भट्टराई
 औद्योगिक क्रान्तिले मिलमा काम गर्नेहरूलाई विस्थापित ग¥यो तर त्यसले थप उद्योगहरू र थप रोजगारी पनि सिर्जना ग¥यो । सन् १९७० को दशकमा कम्प्युटर क्रान्तिले धेरै रोजगारी विस्थापन गर्दा त्यो भन्दा बढी रोजगारी बढेको हामीले देखे भोगेकै हो । ३० वर्षको अन्तरमा कम्प्युटर दैनिक जीबनको हिस्सा बन्यो । सन् २०२७ सम्ममा भारतमा मात्र २३ लाख एआईसम्बन्धी नयाँ जागिर खुल्ने प्रक्षेपण गरिएको छ । त्यसैले एआई क्रान्तिले पनि रोजगार विस्थापन भन्दा बढाउने अवस्था छ ।
एक अध्ययनका अनुसार एआई सीपहरू भएका पेशेवरहरूले उही भूमिकामा सीप नभएका साथीहरूको तुलनामा ५६ प्रतिशतसम्म बढी तलब पाउँछन् । यो तथ्याङ्कले एआईसँग लड्न खोज्नुभन्दा एआई सिक्नु लाभदायक छ भन्ने एउटा स्पष्ट सन्देश दिन्छ । नेपाली फ्रिल्यान्सरहरूका लागि एउटा अभूतपूर्व अवसर खुलेको छ, सही उपकरणहरूसहित विराटनगरको एक डेभलपर वा पोखराको एक डिजिटल मार्केटरले अमेरिका वा युरोपमा उच्च पारिश्रमिकका लागि प्रतिस्पर्धा गर्न र विदेशी मुद्रा नेपाल ल्याउन सक्छन् ।
नेपालको अवस्था के छ ?
नेपाललाई यो प्रश्नले फरक तरिकाले छुन्छ । हाम्रो अर्थतन्त्र कृषि, पर्यटन र रेमिट्यान्समा आधारित भएकाले प्रत्यक्ष खतरा तत्काल महशुस नहुन सक्छ तर अप्रत्यक्ष असर गहिरो हुनेछ । नेपालका ६० प्रतिशतभन्दा बढी श्रमिक कृषि वा म्यानुअल कामहरूमा छन्, जसले एआई–प्रेरित जोखिम तत्काललाई सीमित राख्छ । तर बलियो डिजिटल सीप र क्षमताबिना नेपाल उच्च मूल्यको वैश्विक  अर्थतन्त्रमा पछाडि पर्न सक्छ ।
नेपालमा पूर्णकालीन नियमित जागिर तीव्र रूपमा घटेका छन् भने आउटसोर्स र करार कामहरू उल्लेखनीय रूपमा बढेका छन् । नेपालको विपिओ (बिजनेस प्रोसेस आउटसोर्सिङ) क्षेत्र विशेष रूपमा संवेदनशील छ । नेपालको अर्थतन्त्र सेवा क्षेत्र, बिओपी र प्रशासनिक भूमिकाहरूमा भारी निर्भर छ—यी नै क्षेत्र स्वचालनका लागि सबैभन्दा बढी उपयुक्त छन् ।
नेपालमा सरकारले सन् २०२४–२०३४ लाई सूचना प्रविधिको दशक घोषणा गरेको छ । यसमा १५ लाख नयाँ प्राविधि जागिर र दशकभित्र ३० खर्ब नेपाली रुपैयाँको आइटी सेवा निर्यात गर्ने लक्ष्य राखेको छ । यो महत्वाकांक्षी लक्ष्य हो तर यसका लागि एआईलाई चुनौतीको रूपमा होइन, अवसरको रूपमा बुझ्नुपर्छ ।
सरकारले के गरिरहेको छ ?
नेपाल सरकारले राष्ट्रिय एआई नीति २०८२ आधिकारिक रूपमा अनुमोदन गरिसकेको छ । यो ढिलै भए पनि देशको डिजिटल रूपान्तरण यात्रामा एक महत्वपूर्ण उपलब्धि हो । यो नीतिले स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक प्रशासन क्षेत्रमा एआईको रणनीतिक एकीकरणको कल्पना गरेको छ । नेपाल सरकारले पाँच वर्षभित्र एआई क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने लक्ष्य राख्दै एआईसम्बन्धी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । यो नीतिले अन्तरराष्ट्रिय आधारभूत सिद्धान्त र प्रचलनसँग अनुकूल हुने गरी एआईको अनुसन्धान, विकास र प्रयोगलाई दिशानिर्देश गर्न नेपालमा एआई नियमन परिषद् स्थापना गर्ने रणनीति लिएको छ ।
एआईलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अधिकतम उपभोग गर्ने प्रतिबद्धतासहित उक्त नीतिमा विश्वव्यापी सूचकाङ एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५०औँ स्थानभित्र पु¥याइने उल्लेख गरिएको छ । नीतिले एआईका कारण सम्भावित जागिर गुम्ने स्थितिलाई व्यवस्थापन गर्न र यसका सामाजिक तथा आर्थिक परिणामलाई सम्बोधन गर्न संयन्त्र स्थापना गर्ने कुरा पनि उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले एआईले नेपालको विकासलाई अवसर र चुनौती दुबै दिने बताएको छ । एआईलाई मानव–केन्द्रित तथा क्षमता स्वचालित गर्नभन्दा बढाउने दिशामा विकास गर्नु जरुरी छ भन्ने कुरामा युएनडिपीले जोड दिएको छ । समग्रमा एआईले जागिर खाने नभएर पहिलेको भन्दा बढी जागिर उत्पादन गर्छ भन्न सकिन्छ । यसले दोहोरिने, यान्त्रिक कामहरू हटाउँछ तर यसले मानवीय रचनाशीलता, सहानुभूति र जटिल निर्णय–क्षमता प्रतिस्थापन गर्न सक्दैन । –लिलाराज भट्टराई
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi