काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघकी एसोसिएट तर्फ उपाध्यक्ष उम्मेदवार ज्योत्स्ना श्रेष्ठ सुब्बाले अनुसन्धान पूरा नगरी बिना प्रमाण व्यवसायीलाई थुन्ने सरकारी प्रवृत्तिले व्यवसायिक वातावरणमा नकारात्मक असर पारेको बताएकी छन्। उनले दोष प्रमाणित नभई गरिने यस्ता कारबाहीले व्यवसायीहरूमा असुरक्षा बढाएको छ र ‘बिजनेस कन्फिडेन्स’ घटाएको छ।
उनले सरकारलाई अनुसन्धान प्रक्रिया पूरा गरेर मात्र दोषी प्रमाणित भएका व्यक्तिमाथि कारबाही गर्न आग्रह गरिन्। ‘सरकारले पहिले व्यवसायीको कुरा सुन्नुपर्छ अनि मात्र थुन्ने काम गर्नुपर्छ,’ उनले भनिन्।
सुब्बाले हालको अवस्थाले लगानीमैत्री वातावरण कमजोर बनाएको उल्लेख गर्दै सुरक्षित र पूर्वानुमानयोग्य व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्। उनका अनुसार, एक व्यवसायीले आफ्नो मात्र होइन, हजारौं रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिको प्रतिनिधित्व गर्ने भएकाले यस्तो व्यवहारले समग्र अर्थतन्त्रमा असर पार्न सक्छ।
उनले सबै व्यवसायी एकजुट भएर यस्ता विषयमा आवाज उठाउन आवश्यक रहेको पनि जोड दिइन्। साथै, व्यवसायिक समुदायले निष्पक्ष, निरन्तर र जिम्मेवार रूपमा आफ्नो धारणा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिइन्।












प्रतिक्रिया दिनुहोस्