काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहण क्षेत्रमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखिन् ।
नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘द एसेन्ट समिट’मा उनले अमेरिका र नेपालबीच नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र रहेको उल्लेख गर्दै उनले हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताइन् ।
सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै उनले उक्त घटनाले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरिन् । उनका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दुवै देशबीचको सम्बन्ध पर्यटन, शिक्षा, व्यवसाय, प्रविधि तथा जनस्तरको आदानप्रदानमार्फत निरन्तर बलियो बन्दै गएको छ ।
उपविदेशमन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको बताइन् । यस्ता प्रविधिले खोज तथा उद्धार, मौसम पूर्वतयारी, लजिस्टिक व्यवस्थापन तथा पर्वतारोहण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
उनले सन् २०२५ मा नेपालले ११ लाख ५० हजारभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक भित्र्याएको र त्यसमध्ये करिब एक लाख १२ हजार पर्यटक अमेरिकाबाट आएको तथ्य प्रस्तुत गरिन् । अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, पदप्रदर्शक सेवा तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताइन् ।
रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन् । हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै उनले यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन् ।
“हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,” उनले भनिन्, “संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ ।”












प्रतिक्रिया दिनुहोस्