Skip to content

विद्यालय, अस्पताल र विद्युत् क्षेत्रलाई ‘लग्जरी’ मान्न मिल्दैन, सहुलियतको नाममा करको भार थपियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले शिक्षा, स्वास्थ्य तथा विद्युत् सेवामा ‘लग्जरी कर’ लगाउने सरकारी निर्णय उपयुक्त नभएको बताएका छन्। आइतबार आयोजित सुवर्ण शमशेर इकोनोमिक शृङ्खला कार्यक्रममा बोल्दै उनले सरकारले प्रत्यक्ष रूपमा कर नबढाएको देखाए पनि विभिन्न शीर्षकमार्फत अप्रत्यक्ष रूपमा नागरिकमाथि थप करको भार थोपरेको आरोप लगाए।
थापाले निजी विद्यालयमा छोराछोरी पढाउनु वा निजी अस्पतालमा उपचार गराउनु वर्तमान नेपाली समाजको बाध्यता रहेको उल्लेख गर्दै त्यसलाई विलासितासँग जोडेर अतिरिक्त कर लगाउनु न्यायोचित नहुने बताए। सरकारी विद्यालयको शैक्षिक अवस्था र सरकारी अस्पतालको सेवा पहुँच सन्तोषजनक नभएको अवस्थामा निजी क्षेत्रको सेवा उपयोग गर्नेलाई दण्डित गर्ने शैलीमा कर लगाउनु गलत हुने उनको भनाइ छ ।
उनले सरकारले आयकरमा केही सहुलियत दिएको जस्तो देखाए पनि अन्य माध्यमबाट नागरिकको जेबबाट थप रकम उठाउने प्रयास गरेको टिप्पणी गरे। “अगाडिको गोजीमा कर छुट दिएको जस्तो देखाएर पछाडिको गोजीबाट सुटुक्क कर निकाल्ने काम भएको छ,” भन्दै उनले बजेटका केही प्रावधानप्रति असन्तुष्टि जनाए।
सभापति थापाले काँग्रेसका सांसदहरूलाई बजेटमाथिको छलफलमा सहभागी हुँदा सामान्य सुधार र संरचनागत सुधारबीच स्पष्ट भिन्नता छुट्टाएर धारणा राख्न निर्देशनसमेत दिएका छन्। बजेटले अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T