Skip to content

भारतीय बजारको अवरोधले चिया उद्योग संकटमा, फ्रेट फरवार्डर्स एशोसिएसनद्धारा कूटनीतिक पहलको माग

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य वस्तु चिया निर्यातमा पछिल्लो समय देखिएको जटिल अवस्था तथा भारतीय बजारमा उत्पन्न प्रक्रियागत अवरोधप्रति नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षण तथा अन्य प्राविधिक प्रक्रियाको नाममा लामो समयसम्म गोदाममा रोकिराख्दा नेपाली चिया उद्योगको उत्पादन, बिक्री वितरण र निर्यात श्रृंखला प्रभावित भएको जनाएको हो।
संघका अनुसार उक्त अवरोधका कारण विशेषगरी नेपालको पूर्वी क्षेत्रमा सञ्चालित चिया उद्योगहरू बन्द हुन थालेका छन् भने सयौं चिया बगान प्रभावित भएका छन्। नेपालभर रहेका करिब १२० चिया उद्योग, हजारौं किसान तथा ५० देखि ६० हजार श्रमिकको रोजगारी प्रत्यक्ष रूपमा चिया क्षेत्रसँग जोडिएको उल्लेख गर्दै संघले यस क्षेत्रको गतिविधि ठप्प हुँदा निर्यात व्यापार, विदेशी मुद्रा आर्जन तथा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जनाएको छ।
नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा भारतीय पक्षबाट सिर्जित प्रक्रियागत अवरोधले चिया उद्योगी र निर्यातकर्तामात्र नभई समग्र नेपाली अर्थतन्त्रलाई समेत प्रतिकूल असर पारेको संघको भनाइ छ।
नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले चिया क्षेत्रले नेपालको निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरणमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै यस विषयलाई उच्च प्राथमिकतामा राखेर तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
संघले भारतीय सम्बन्धित निकायसँग उच्चस्तरीय संवाद गरी नेपाली चिया निर्यातमा देखिएका प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाई व्यापारलाई सहज, सरल र निर्वाध बनाउन आवश्यक पहल गर्न पनि सरकारलाई अनुरोध गरेको छ।
साथै, नेपालको निर्यात व्यापार तथा आपूर्ति श्रृंखलाको सुदृढीकरणका लागि आफूहरू सदैव प्रतिबद्ध रहेको जनाउँदै संघले वर्तमान जटिल परिस्थितिमा चिया उद्योग, निर्यातकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima