Skip to content

कानून मिचेर ओम मेगाश्रीको ‘प्राप्ति’ गर्ने प्रयास

बोर्डले भन्यो- बजारमा विकृति हुन दिँदैनौं: कम्पनी घाटामा, ईपिएस ऋणात्मक

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत भइसकेको सार्वजनिक कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले धितोपत्र कानून विपरित एक निजी (प्राइभेट) कम्पनीलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया अघि बढाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ ले समेत नचिनेका कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव गरेपछि नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र लगानीकर्ताहरू माझ गम्भीर प्रश्न खडा भएको छ ।

कम्पनीले विशेष साधारणसभा बोलाएर रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत शुक्रबार विशेष साधारणसभा सम्बन्धी सूचना जारी गर्दै रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि असार २८ गते कम्पनीको उद्योग परिसर, जुगेडी, भरतपुर महानगरपालिका–२९ चितवनमा विशेष सभा बोलाएको छ ।

कम्पनीले बोलाएको सभामा ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्ने, प्राप्ति प्रक्रियाका सम्बन्धमा हालसम्म भएका काम कारबाही, निर्णय, पत्राचार, नियामक निकायसँग भएका प्रकृया तथा आवश्यक कार्यहरु अनुमोदन गर्ने,
डीउ डेलिजेन्स अडिट (डीडीए) प्रतिवेदन तथा सोसँग आबद्ध सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र स्वतन्त्र मूल्याङ्कनकर्ताको सिफारिसका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपातरशेयर आदान– प्रदान अनुपात स्वीकृत गर्ने प्रस्ताव राखेको छ ।

यस्तै रोयल फर्मास्युटिकल्स प्रालिलाई ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले प्राप्ति गर्नेसम्बन्धी अन्तिम समझदारीपत्र, प्राप्ति योजना, व्यावसायिक योजना तथा आवश्यक अन्य कागजातहरू स्वीकृत गर्ने, प्राप्तिपश्चात् रोयल फर्मास्युटिकल्स प्रा। लि। का शेयरधनीहरूलाई स्वीकृत शेयर स्वाप अनुपातबमोजिम ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गर्ने, प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भए सो संशोधन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव गरेको छ ।

यस्तै कम्पनी ऐन, २०६३, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी एण्ड क्लियरिङ लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग तथा अन्य सम्बन्धित नियामक निकायबाट प्राप्त हुने निर्देशन, स्वीकृति वा सुझावअनुसार आवश्यक संशोधन, परिमार्जन तथा कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र प्राप्ति प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कागजातमा हस्ताक्षर गर्ने, नियामक निकायमा निवेदन दिने, स्वीकृति प्राप्त गर्ने, शेयर सूचीकरण, डिम्याट, अभिलेख संशोधन तथा अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले जस्तो प्रस्ताव गरेपनि यो काम धितोपत्र ऐन विपरित हुने सेबोनको तर्क छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को परिभाषा खण्डमा प्राप्ति भन्नाले ‘बोर्डमा धितोपत्र दर्ता गराएको एउटा संगठित संस्थाले समान प्रकृतिको अर्को संगठित संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्वको हरहिसाब गरी संगठित संस्थाको कानूनी हैसियत समाप्त हुने गरी प्राप्ति गर्ने कार्य सम्झनु पर्दछ । साथै यस शब्दले बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्थाले बोर्डमा धितोपत्र दर्ता गराएको समान प्रकृतिको अर्को संगठित संस्थालाई प्राप्ति गर्ने कार्यलाई समेत सम्झनु पर्दछ’ भनेको छ ।

साथै सोही निर्देशिकामा “प्राप्ति गर्ने संस्था” भन्नाले ‘एउटा संगठित संस्थाले अर्को लक्षित संस्थाको सम्पूर्ण सम्पत्ति, दायित्व तथा व्यवसाय प्राप्ति गर्ने संगठित संस्थालाई सम्झनु पर्दछ’ भनेको छ ।

यता धितोपत्र ऐनको परिभाषा खण्डमा “संगठित संस्था” भन्नाले ‘धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झनु पर्छ । तर, सो शब्दले प्राइभेट लिमिटेड कम्पनी वा सहकारी संस्थालाई जनाउँने छैन’ भनिएको छ ।

बोर्डका एक अधिकारीले भने “रोयल फर्मास्युटिकल्स प्रा। लि। हो, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड कम्पनी हो । तसर्थ यो पहिलो दृष्टि मै गैह्र कानूनी काम ठहरिने छ ।”
ओम मेगाश्री फर्मास्युटिकल्स सूचीकृत कम्पनी भएर पनि प्रालिलाई मर्ज गराएर पुँजी बजारमा विकृती भित्र्याउन खोजेको हो की भन्ने लगानीकर्ता मात्रै नभएर धितोपत्र बोर्डका अधिकारीहरुको पनि बु्झाइ छ ।

उत्पादन मुलक कम्पनीको प्रत्यक्ष नियामक निकाय नहुनुको फाइदा उठाउँदै यस्ता विकृती सृजना हुन थालेको एक लगानीकर्ताले बनाए । उनका अनुसार यो विषयमा धितोपत्र बोर्डको नयाँ नेतृत्व (नवनियुक्त अध्यक्ष डा. गोपाल भट्ट) ले समयमा नै ध्यान नदिने हो भने अहिले बोर्डमा आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरुले पनि यही बाटो रोज्न सक्ने छन् ।

ति लगानीकर्ताका अनुसार यो विकृती बेलैमा रोक्न नसक्ने हो भने भोलीका दिनमा अन्य कमजोर वित्तीय अवस्था भएका कम्पनीले यो बाटो रोज्न सक्ने छन् । यस्ता विषयमा धितोपत्र बोर्डले कानूनी रुपमा आगामी दिनमा स्पष्ट व्यवस्था नगर्ने हो भने निजी कम्पनी सूचीकृत कम्पनीमा मिसाएर सेयर बिक्री गर्ने नयाँ खेल जन्मने समेत चर्चा हुन थालेको छ ।

यस्ता समस्या समाधान गर्न प्राली र पब्लिक कम्पनी मर्ज गर्ने विषयमा बोर्ड कानूनी रुपमा स्पष्ट हुनुपर्ने लगानीकर्ताको माग रहेको छ ।

ओम मेगाश्रीले २०८१ फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५४ हजार कित्ता कम्पनीका कर्मचारी, ९० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।

यस्तै बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन थियो । कम्पनीको सेयर हाल लकइन रहेको छ ।

कम्पनीमा अध्यक्ष अर्जुन कुमार श्रेष्ठसँग ६ लाख ५१ हजार कित्ता सेयर स्वामित्व छ । यस्तै कम्पनीमा कमल पन्थीको ४ लाख ३९ हजार १८० कित्ता, अर्जुन कुमार काफ्लेको ४ लाख ३९ हजार १८० कित्ता, रविन्द्रराज श्रेष्ठको ४९ हजार १२०, नेत्रलाल पौडेलको ३९ हजार २००, सिताराम जोशोको २३ हजार, जेनी थापा मगरको २९ हजार ४० कित्ता सेयर स्वामित्व छ । अर्जुन कम्पनीको अध्यक्ष हुन भने अन्य सन्चालक हुन् ।

चालु आवको चैत मसान्तसम्म कम्पनी ४ करोड ९ लाख ६९ हजार ९३० रुपैयाँले नोक्सानमा छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ १० पैसा ऋणात्मक रहेको कम्पनीको नेटवर्थ ९७ रुपैयाँ ५० पैसा छ ।
कम्पनीको सेयर मूल्य १५७५ रुपैयाँसम्म पुर्याइएको थियो । अहिले १ हजार ७ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi