Skip to content

देशमै पहिलो पटक डिजिटल फेस्ट’ हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आयोजना हुने भएको छ। घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिने आयोजकले जनाएको छ।

यस वर्षको राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आगामी पुस ९ देखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ। फेस्टमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले स्टुडियोमार्फत आफ्ना उत्पादन तथा सेवासम्बन्धी जानकारी, प्रस्तुति तथा विज्ञापन सामग्री सार्वजनिक गर्न सक्नेछन्। ती सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।

आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य प्रदर्शनीलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय पहुँच भएका दर्शकसम्म पुर्‍याउनु हो। यसबाट स्वदेशी उत्पादन तथा सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षमा प्रविधिको प्रयोग बढ्दै गएको तथा सामाजिक सञ्जाल र कन्टेन्ट मार्केटिङको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा फेस्टलाई डिजिटल माध्यमसँग जोडिएको आयोजकको भनाइ छ। डिजिटल फेस्टमार्फत नेपालबाहिर रहेका नेपाली तथा सम्भावित ग्राहकलाई समेत नेपालको निर्माण क्षेत्रको ठूलो प्रदर्शनीसँग जोड्न सकिने विश्वास आयोजकले गरेको छ।

गत वर्ष १५० वटा स्टल राखिएकोमा यसपटक २०० भन्दा बढी स्टल राख्ने तयारी गरिएको छ। स्टल बुकिङमा व्यवसायीको उत्साहजनक सहभागिता रहेको र हालसम्म करिब ६० प्रतिशत स्टल बुकिङ भइसकेको घर निर्माण फाउन्डेसनले जनाएको छ।

नयाँ स्वरूपमा आयोजना गर्न लागिएको यसपटकको फेस्टमा अवलोकनकर्ताको संख्या उल्लेख्य रूपमा वृद्धि हुने आयोजकको अनुमान छ। साथै, फेस्टमा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको छ। घर निर्माणका लागि आवश्यक निर्माण सामग्री, प्रविधि तथा सेवाबारे सम्पूर्ण जानकारी एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आयोजना हुन लागेको फेस्टमा ट्राइनोक्स ग्लोबलले सहकार्य गरेको छ।

यसअघि गत पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। उक्त फेस्टमा १५० भन्दा बढी स्टल राखिएका थिए। यस वर्ष प्रदर्शनीलाई थप विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

घर निर्माण गर्ने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा निर्माण क्षेत्रका अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यसहित फेस्ट आयोजना गर्न लागिएको हो।

घर निर्माण फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डले आफ्नो पहिचान प्रभावकारी रूपमा प्रस्तुत गर्न, ग्राहकसँग सम्बन्ध विस्तार गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक ढंगले प्रदर्शन गर्न चुनौती सामना गरिरहेका छन्। यिनै चुनौतीलाई सम्बोधन गर्दै व्यवसायी र ग्राहकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले फेस्ट आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।

गत वर्षको प्रदर्शनीमा सहभागी विभिन्न व्यवसायीले कुल साढे ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T