काठमाडौं । सरकारले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नरहेको दाबी गर्न थालेको दुई साता पुग्न लागिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयदेखि नेपाल आयल निगमसम्मका अधिकारीले पटक-पटक ग्यासको आयात र आपूर्ति नियमित रहेको दाबी गरिरहेका छन् ।
सरकारले कालोबजारी नगर्न व्यवसायीलाई निर्देशन दिइ नै रहेको छ । बजार अनुगमनलाई पनि तीव्र पारेको सरकारको दाबी छ । डिपोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आफै पुगेर अनुगमन गरिरहेकी छीन् । सरकारले उपभोक्ताका गुनासा सुन्न ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ । हटलाइन नम्बर सार्वजनिक गरिएको छ । तर, बजारको अवस्था भने सामान्य हुन सकेको छैन । उपभोक्ताले ग्यास पाउन सकेका छैनन् ।
देशभरका उपभोक्ताहरू खालि सिलिन्डर बोकेर आधारातदेखि लाइनमा बसिरहेका छन् । काठमाडौंं उपत्यका मात्रै होइन सुर्खेतदेखि जुम्लासम्म उपभोक्ता ग्यासको सिलिण्डर बोकेर घण्टौँ लाइनमा बस्न बाध्य छन् । कतिपय स्थानमा ग्यासका लागि मध्यरातमै डिपो पुगेर लाइन बस्नुपर्ने बाध्यता कायमै छ । काठमाडौं उपत्यकामै ग्यास पाउन नसकेको, घण्टौँ प्रतीक्षा गर्नुपरेको र खाली सिलिण्डर बोकेर फर्किनुपरेको धेरै उपभोक्ताहरूको गुनासो छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित सगरमाथा ट्रेडर्स एण्ड सप्लायर्समा आइतबार देखिएको दृश्यले ग्यास आपूर्तिको वास्तविक अवस्था झल्काउँछ । खाना पकाउने ग्यास लिन उपभोक्ता बिहान २ बजेदेखि नै सिलिण्डर लिएर लाइनमा बसेका छन् । लाइन कायमै छ ।
यस्तै जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्कमा रहेको लुना सप्लायर्समा पनि आइतबार ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ । सिलिण्डर बोकेर घण्टौँ प्रतीक्षा गर्नु त्यहाँका उपभोक्ताका लागि सामान्य दैनिकी जस्तै बनेको छ ।
धनकुटा ग्यासको अभाव पछि अनुगमनः तस्बिरः रासस
यी उदाहरण काठमाडौं उपत्यका बाहिरका भए । उपत्यका भित्रै पनि ग्यास नपाएर लाइन लाग्नेको कमी छैन् । अहिले आम सर्वसाधारणदेखि रास्वपाका नेताहरु समेत ग्यास नपाएको गुनासो गर्न थालेका छन् ।
रास्वपाका सांसद रमेश प्रसाईले संसद भवनमा नै देशभर ग्यासको अभाव रहेको, प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन भनेर प्रश्न समेत गरेका छन् ।
रास्वपा समर्थित सांसद भोजराज थापा फेसबुकमा लेख्छन् ” घरमा ग्यास सकिएको १० दिनभयो । ग्यास पाको छैन । गुनासो कता पोखौँ ? पोखौँ भने बल्ल खाईस् ! तैले खुप चुनावमा घण्टी बजाउँदै हिडेको हैनस् भन्छन् । लु भयो गुनासो कसैसँग छैन । म चुप छु ।”
यस्ता समस्या भोग्ने लाखौ उपभोक्ता छन् । एकातिर उपभोक्ताको यस्तो समस्यामा छन् । अर्कोतिर सरकार बजारमा ग्यासको अभाव छैन भन्दै दाबी गरिरहेको छ ।
सरकारले डिपो आसपासमा ग्यास नपाउनेको लाइनको नजर अन्दाज गरिरहेको छ ।
देशभर नै ग्यास अभावको बढ्दै छ । सरकारले साउन ११ गतेदेखि नै बजारमा ग्यास अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गर्न थालेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले साउन ११ गते बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेकी थिइन् । उनले त्यसदिन ‘केही दिनदेखि बजारमा ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेको छ । यसको विषयमा विशेष चासको साथ काम गर्न थालेको छु ।’ भनेर विज्ञप्ति नै जारी गरेकी थिइन् ।
मन्त्रालयले ग्यासको मौज्दात र आपूर्ति अवस्थाबारे निगरानी गरिरहेको भन्दै उपभोक्तालाई त्रसित नहुन आग्रह यादवले आग्रह गरेकी थिइन् । ग्यास वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै तत्कालका लागि अति आवश्यक मात्रामा ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेकी थिइन् ।
मन्त्री यादवले बजारमा देखिएको समस्या तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशनसमेत दिइन् । निगमले बजार अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको थियो । तर त्यसपछि पनि उपभोक्ताको सास्ती कम भएन ।
साउन १२ गते मन्त्री यादव आफैँ ग्यास उद्योगको निरीक्षणमा पुगिन् । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गर्दै उनले ग्यासको आपूर्ति तथा वितरण अवस्थाबारे जानकारी लिएकी थिन् ।
उद्योगीहरूले विगतमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रूपमा भइरहेको दाबी गरेका थिए । उपभोक्ताले आफूलाई आवश्यकभन्दा बढी ग्यास खरिद गर्दा बजारमा अभावजस्तो देखिएको उद्योगीहरूको भनाइ थियो।
कर्णालीमा ग्यासकाे लाइनमा उपभाेक्ता तस्वीरः रासस
मन्त्री यादवले ग्यास अभाव हुन नदिन व्यावसायिक प्रयोजनभन्दा घरायसी प्रयोजनलाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न निर्देशन दिइन् । सरकारले त्यतिबेला पनि ग्यासको अभावभन्दा वितरण र उपभोक्ताको व्यवहारलाई समस्याको एउटा कारणका रूपमा प्रस्तुत गरेको थियो । तर बजारमा उपभोक्ताको अनुभव भने फरक रह्यो ।
साउन १६ गते सरकारले उपभोक्तालाई राहत दिने भन्दै अर्को विशेष व्यवस्था अघि सारेको छ। उद्योगमन्त्री यादवको निर्देशनपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाटै एलपीजी ग्यास वितरण सुरु गर्न थालेको थियो । सो दिन पनि निगमले दैनिक मागअनुसार एलपीजी ग्यासको आपूर्ति भइरहेको जानकारी मन्त्रालयको सचिवालयले दिएको थियो ।
ग्यास आपूर्तिलाई सहज बनाउन काठमाडौं उपत्यकामा बढी माग हुने ब्रान्डका ग्यास साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नै वितरण थालियो । नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइयो।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई आग्रह गरियो । सरकारले आपूर्ति नियमित रहेको बताइरहेको अवस्थामा निगमको कार्यालयबाटै ग्यास बिक्री गर्ने व्यवस्था सुरु हुनुले ग्यास अभाव रहेको पुष्टि गर्छ ।
साउन १९ गते पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको अभाव नरहेको बतायो। मागभन्दा बढी ग्यास आयात भइरहेको, बजारमा कालोबजारीको अनुगमन भइरहेको र आपूर्ति व्यवस्था नियमित रहेको मन्त्रालयको दाबी थियो। माग भएजति ग्यास भित्रिएको दाबी गर्ने सरकार र आयल निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न निर्देशन नै दियो । यसले पनि सरकारले आवश्यकता अनुसार ग्यास आएको भनेको भएता पनि बजारमा समस्या रहेको देखाउँछन् ।
बजारमा देखिएको समस्या समाधान गर्न चुकेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समस्या समाधान गर्न गृह मन्त्रालयलाई गुहारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयका समन्वयमा अहिले ग्यास डिपो तथा बजारमा अनुगमनमा समेत कडाइ गरिएको छ । बजारमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारले सादा पोसाकमा प्रहरीसमेत परिचालन गरेको छ। तर उपभोक्ताको लामो लाइन र ग्यास नपाएको गुनासो भने रोकिएको छैन ।
समस्या समाधानका लागि सरकारले ‘क्विक रेस्पोन्स टिम’ समेत गठन गर्याे। उद्योगमन्त्री यादवको निर्देशनपछि नेपाल आयल निगमले उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएको हो। टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
शनिबार उपभोक्ताबाट खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासो आएपछि उद्योगमन्त्री गौरीकुमारी यादव आफैँ नेपाल ग्यास उद्योगको अनुगमनमा पुगिन । उनले टेकुस्थित ग्यास वितरण डिपोमा पुगेर वितरण अवस्थाको निरीक्षण गरिन। यसैगरी, उनले काठमाडौंको कीर्तिपुर क्षेत्रमा विद्यार्थीको बसोबास बढी भएकाले विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न सबै ग्यास वितरण कम्पनीलाई निर्देशन दिएकी छिन् । आइतबार पनि मन्त्री यादवले विभिन्न स्थानमा ग्यासको आपूर्तिबारे अनुगमन भइरहेको जानकारी दिएकी छन् ।
जुम्लामा आइतबार ग्यासका लागि सिलिण्डरसहित लाइनमा उपभोक्ता । तस्बिरः रासस
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमको कार्यकारीमा नागेन्द्र शाहलाई नियुक्त गरेको छ । उनले बिहीबार नै शपथ लिएका छन् । नयाँ कार्यकारी प्रमुखको शपथका क्रममा समेत बजारमा देखिएको ग्यास अभाव र आपूर्ति व्यवस्थापनको विषय उठेको थियो । नयाँ नेतृत्व आएपछि ग्यास आपूर्ति व्यवस्थामा सुधार आउने सरकारको अपेक्षा छ। तर अहिलेसम्म उपभोक्ताले भोगिरहेको समस्या भने ज्यूँका त्यूँ रहेको छ ।
ग्यास संकटको यो अवधिमा सरकारले लगातार आपूर्ति नियमित रहेको दाबी गर्दै आएको छ। भारतबाट ग्यास आयातमा समस्या नरहेको, मागभन्दा बढी ग्यास आयात भइरहेको र उद्योगहरूबाट आपूर्ति नियमित रहेको सरकारी भनाइ छ। तर, साउनको पहिलो सातादेखि बजारमा देखिएको समस्या हालसम्म पनि समाधान भने हुन सकेको छैन ।
सरकारले समस्या समाधानका लागि विभिन्न तहमा संयन्त्र परिचालन गरिरहेको भए पनि बजारमा ग्यासको अभावसम्बन्धी गुनासा कायमै छन् । सरकारका अनुसार ‘क्विक रेस्पोन्स’ प्रणालीमा दैनिक दुई सयभन्दा बढी गुनासा आएका छन् । सरकारले हाल काठमाडौं उपत्यकामा मात्रै एक दिनमा करिब ४० हजार सिलिण्डर ग्यास वितरण भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्