Skip to content

टोकियोमा हाइलाइफका नेपाली खाद्य उत्पादनको औपचारिक शुभारम्भ, अन्तर्राष्ट्रिय बजारमा विस्तारको नयाँ अध्याय

टोकियो ।नेपालमा उत्पादित हाइलाइफ फुड्स एन्ड एग्रो इन्डस्ट्रिज लिमिटेडका खाद्य उत्पादनहरू जापानको बजारमा औपचारिक रूपमा प्रवेश गरेका छन् । टोकियोमा आयोजित विशेष कार्यक्रमबीच कम्पनीका चिउरा, मस्यौरा, गेडागुडी, दाल, कोदोको पिठोलगायत उत्पादनको जापानी बजारमा शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा निमा रुमाले तथा विशेष अतिथिका रूपमा व्यवसायी टिका श्रेष्ठ र जापान–नेपाल उद्योग तथा वाणिज्य मञ्चका अध्यक्ष डा. बलराम श्रेष्ठले उत्पादनको शुभारम्भ गरे । कार्यक्रमको अध्यक्षता हाइलाइफ फुड्स एन्ड एग्रो इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले गरे भने सञ्चालन अमर गुरुङले गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले जापानमा हाइलाइफका उत्पादनको प्रवेशलाई नेपाली किसान, नेपाली उत्पादन र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण सुरुवातका रूपमा लिएको बताए । उनले नेपालमा उत्पादित कृषि उपजलाई गुणस्तरीय प्रशोधन, आकर्षक प्याकेजिङ र प्रभावकारी पहिचान निर्माणमार्फत विश्व बजारमा पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे ।

“नेपाली भएकै कारण होइन, गुणस्तरीय भएकै कारण नेपाली उत्पादन रोजिने वातावरण निर्माण गर्न चाहन्छौँ,” अध्यक्ष पौडेलले भने ।

उनका अनुसार गुणस्तर, खाद्य सुरक्षा र उपभोक्ता विश्वासका दृष्टिले जापान विश्वकै संवेदनशील बजारमध्ये एक भएकाले यहाँ हाइलाइफको प्रवेश कम्पनीका लागि अवसरसँगै गुणस्तरको परीक्षा पनि बनेको छ ।

अध्यक्ष पौडेलले विदेशमा रहेका नेपालीहरूले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमार्फत नेपाली किसान, उद्योग र उद्यमशीलतालाई सहयोग गर्न सक्ने उल्लेख गर्दै जापानस्थित नेपाली समुदायलाई हाइलाइफका उत्पादन प्रयोग गर्न आग्रह गरे ।

कम्पनीले नेपाली परम्परागत खाद्य संस्कृति र आधुनिक पोषण आवश्यकतालाई ध्यानमा राखेर उत्पादन बजारमा ल्याइरहेको जनाएको छ । विशेषगरी कोदो तथा अन्य स्थानीय कृषि उत्पादनलाई गुणस्तरीय प्रशोधन, प्याकेजिङ र पहिचान निर्माणमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अभियानलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।

जापानमा हाइलाइफका उत्पादनको आधिकारिक वितरणको जिम्मेवारी लिएको पूर्ण ट्रेडिङ कम्पनीसँग दीर्घकालीन व्यावसायिक साझेदारीका रूपमा सहकार्य अघि बढाइने कम्पनीले जनाएको छ । आगामी दिनमा जापानका विभिन्न सहरसँगै अमेरिका, अष्ट्रेलिया, युरोप तथा मध्यपूर्वका बजारमा समेत हाइलाइफका उत्पादन विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्दै स्वदेशी कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय बजार विस्तार अभियानलाई तीव्रता दिइनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T