Skip to content

२९१ विदेशी नागरिकसहित भोटेकोशी बाढीमा ३८४ पर्यटक बेपत्ता, अधिकांश भारतीय

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीमा परी ३८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा रहेका तथा सो क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटकको अवस्थाबारे नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायहरूले खोजी तथा विवरण संकलन गरिरहेका छन्।

पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। सम्राट टुर्स एन्ड ट्राभल्सबाट बेपत्ता भनिएका ७१ जनामध्ये ५९ जना भारतीय नागरिक छन्। त्यस्तै, लिफ होलिडेबाट बेपत्ता ५५ जनामध्ये ४६ जना भारतीय नागरिक रहेको बोर्डको विवरणमा उल्लेख छ।

यस्तै, फिस्टेल टुर्स एन्ड ट्राभल्सबाट बेपत्ता २७ जनामध्ये २० जना विदेशी छन्, जसमा ३ जना अमेरिकी र १७ जना मलेसियन नागरिक रहेका छन्। अल्पाइन इको ट्रेकबाट बेपत्ता २० जनामध्ये १६ जना विदेशी छन्। उनीहरूमध्ये १२ जना बेलायत र ४ जना दक्षिण अफ्रिकाका नागरिक रहेको बोर्डले जानकारी दिएको छ ।

ट्राभल एजेन्सी तथा पर्यटन कम्पनीहरूबाट प्राप्त विवरण अझै प्रारम्भिक रहेकाले बेपत्ता भनिएका पर्यटक तथा यात्रुको वास्तविक अवस्थाबारे सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रमाणीकरण भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डले आपत्कालीन सहयोग आवश्यक परे टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ वा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरलाई जानकारी गराउन अनुरोध गरिएको छ।

पर्यटकहरूलाई संयमित रहन, आधिकारिक सूचनामात्र पछ्याउन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T