Skip to content

भोटेकोशीमा बाढी: उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, निजी क्षेत्रकाे हेलिकप्टर स्ट्यान्डबाइमा राख्न निर्देशन

तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस र कलमार्फत सुरक्षित स्थानमा जान अलर्ट

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सुरक्षा निकाय परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बताएका छन्।
प्रधानमन्त्री शाहले आफ्नो फेसबूक मार्फत स्टाटस लेख्दै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी  दिएका हुन । अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन्।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया समेत अघि बढाइएको छ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। जोखिमयुक्त क्षेत्रका नागरिकलाई विभिन्न माध्यमबाट सूचना दिँदै सुरक्षित स्थानमा जान सचेत गराइएको छ।
सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आवश्यक पर्दा परिचालन गर्न तयारी अवस्थामा रहन जानकारी गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको छ। प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट जारी हुने उद्धारसम्बन्धी अपडेटको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T