Skip to content

भोटेकोशी बाढीपीडितका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।

नाडाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको नाडाले जनाएको छ । नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर विपद् प्रभावित क्षेत्रमा सहयोग गर्नसमेत आह्वान गरेको छ ।

नाडाले सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले विपद्पछि देखाएको तत्परता र अथक प्रयासको प्रशंसा गरेको छ । प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै सरकारले गरेको आह्वान तथा निजी क्षेत्रलाई राहत र उद्धारमा सहभागी हुन गरेको आग्रहप्रति पनि नाडाले उच्च कदर गरेको जनाएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्को कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने बताए ।

यसैबीच, विपद्का कारण आर्थिक गतिविधिमा समेत असर पर्न सक्ने भन्दै नाडाले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जनाएको छ । आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले अटो शो सञ्चालनलाई निरन्तरता दिइएको नाडाले स्पष्ट पारेको छ ।

नाडाले विपद्को सामना गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै आर्थिक गतिविधिलाई समेत सँगसँगै चलायमान बनाउन आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T