Skip to content

बाढीपीडितका शव व्यवस्थापनमा चुनौती, विभिन्न अस्पतालमा राखिए ५११ शव

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि उद्धार, खोज तथा राहत कार्य तीव्र रूपमा जारी रहे पनि बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन ठूलो चुनौती बनेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म विभिन्न स्थानबाट संकलन गरिएका ५७९ शवमध्ये ५११ शव विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा राखिएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङसहित तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने नदीले बगाएर लगेका शवहरू विभिन्न जिल्लामा भेटिने क्रम जारी रहेको छ।

प्राधिकरणका अनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङमा संकलन गरिएका २७ शव पोखराका अस्पतालहरूमा र १० शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका ३८ शव पनि शिक्षण अस्पतालमा राखिएको छ।

चितवनमा सबैभन्दा धेरै शव फेला परेका छन्। त्यहाँ १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेशनल सिटी अस्पतालमा, दुई शव भरतपुर सामुदायिक अस्पतालमा, दुई शव नारायणी अस्पतालमा तथा ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ।

तनहुँ, गोरखा, नवलपरासी (पूर्व र पश्चिम) लगायतका जिल्लामा पनि ठूलो संख्यामा शव फेला परेका छन्। ती शवहरू सम्बन्धित जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षित रूपमा राखिएको प्राधिकरणले जनाएको छ।

बाढीपछि नदी किनार तथा तल्लो तटीय क्षेत्रमा शव फेला पर्ने क्रम नरोकिएकाले शव संकलन, पहिचान तथा व्यवस्थापनमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्थानीय प्रशासन शवको पहिचान गरी आफन्तसम्म पुर्‍याउने तथा व्यवस्थापन गर्ने कार्यमा निरन्तर खटिएका छन्।

प्राधिकरणले अझै पनि विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी रहेकाले शवको संख्या थप बढ्न सक्ने जनाएको छ। साथै भेटिएका शवहरूलाई संकलन गरी पायक पर्ने अस्पतालमा लैजाने र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T