काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।
बुधबार बसेको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो । अर्थ समिति सचिव लक्ष्मण अर्यालले विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको जानकारी दिए ।
बैठकमा अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव तथा सल्लाहका आधारमा दफावार छलफल गरी प्रतिवेदन तयार पारिएको भन्दै त्यसलाई पारित गर्न आग्रह गरेका थिए ।
समितिको बैठकबाट भएका निर्णयका आधारमा प्रतिवेदन तयार भएकाले निर्णयबाहेक अन्य विषयवस्तु समावेश भए–नभएको विषयमा समेत समितिको बैठक केन्द्रित रहेको थियो । आवश्यक ठानेमा समितिका सदस्यहरूले थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने अर्यालले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्