काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा। रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् ।
समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि सम्पूर्ण तटीय क्षेत्रसम्म पुगेर स्थलगत अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार विनाशकारी बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिनेछ ।
प्रवक्ता शाक्यका अनुसार रसुवा बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको घटनाका रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्नुपर्ने देखिएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार मन्त्रालयले यस्तो वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको हो । यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले घटनाको प्रारम्भिक अध्ययन गरेको थियो ।
प्रारम्भिक अध्ययनमा रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण हुन नसकेको पाइएको थियो ।
त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव केन्द्रले दिएको थियो ।
अब समष्टिगत रूपमा भूगर्भ, तापक्रम, पानी, हिममण्डल तथा नदी प्रणालीको अध्ययन गरिने मन्त्रालयले जनाएको छ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली करिडोर प्रभावित भएजस्तै यस्ता विपद् अन्य नदी प्रणालीमा आउँदा ऊर्जा मन्त्रालयअन्तर्गतका पूर्वाधारमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले अध्ययन अघि बढाइएको प्रवक्ता शाक्यले बताए ।
उनका अनुसार रसुवा बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिक्दै दीर्घकालीन रूपमा पूर्वतयारी कसरी गर्ने र जलवायु परिवर्तन, बाढी, खडेरी तथा अन्य प्राकृतिक प्रकोपसँग जुध्दै संकटको अवस्थामा समेत निरन्तर विद्युत् उत्पादन गर्न सक्ने जलविद्युत् उत्थानशीलता कसरी कायम गर्ने भन्ने विषय पनि अध्ययनमा समेटिनेछ ।
तीन चरणमा अध्ययन
मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा गरिनेछ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्म घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन हुनेछ । यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध अध्ययन गरिनेछ । दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ ।
तेस्रो तथा महत्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमको सम्भावना, तीव्रता वा पूर्वतयारीको अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक मूल्याङ्कन गरिनेछ । यसअघि सन् २०२४ सेप्टेम्बर २६ देखि २८ सम्म नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोको घटनालाई अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावका रूपमा मूल्याङ्कन गरेको थियो ।
तर रसुवा–भोटेकोशीको घटना फरक प्रकृतिको हुन सक्ने भएकाले त्यससँग प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्ष निकाल्नुभन्दा वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो ।
प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन कारक विश्लेषणलगायत क्षेत्रका विशेषज्ञलाई सहभागी गराउने तयारी गरिएको छ ।
भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार प्रकृतिको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेटिनेछ। आवश्यक वैज्ञानिक सहकार्य तथा तथ्यांक आदानप्रदान संयन्त्र विकास गर्ने प्रस्तावसमेत गरिएको छ ।
स्थलगत अध्ययनसँगै ड्रोन र स्याटेलाइट प्रयोग
मन्त्रालयका अनुसार विज्ञ समितिले विपद्को सम्भावित उद्गमस्थलको स्थलगत भ्रमण गर्नेछ । स्थल निरीक्षणका क्रममा विस्तृत तस्वीर तथा भिडियो अभिलेख तयार गरिनेछ भने आवश्यकताअनुसार ड्रोन तथा स्याटेलाइट अवलोकनसमेत प्रयोग गरिनेछ । समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ ।
अध्ययनपछि घटनाको वैज्ञानिक प्रकृति र उत्पत्तिबारे स्पष्ट प्रमाणका आधारमा बाढीलाई उपयुक्त वैज्ञानिक नाम दिने योजनासमेत मन्त्रालयले बनाएको छ ।
अध्ययनले के खोज्नेछ ?
मन्त्रालयका अनुसार रसुवा–भोटेकोशी घटनाको प्रकृति सामान्य अतिवृष्टि वा तापक्रमजन्य विपद्भन्दा फरक हुन सक्ने भएकाले जलवायु, हिममण्डल, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबीचको अन्तरसम्बन्ध अध्ययन गरिनेछ ।
अध्ययनले घटनाको मूल कारण के थियो, कुन–कुन प्राकृतिक प्रक्रिया क्रमशः सक्रिय भए, ती प्रक्रियामा जलवायु परिवर्तनको भूमिका कति थियो र गैर–जलवायुगत कारणको योगदान कति थियो भन्ने प्रश्नको उत्तर खोज्नेछ ।
यसका लागि सोही नदी प्रणाली तथा आसपासका हिमाली क्षेत्रमा विगतमा भएका समान प्रकृतिका घटनाको अभिलेखसमेत अध्ययन गरिनेछ । नदीको जोखिम तथा संवेदनशीलता, नदी किनारका बस्ती तथा पूर्वाधार, भौगोलिक बनावट र विगतका बाढी, पहिरो तथा हिमनदीसम्बन्धी घटनासँग तुलना गरिनेछ ।
अध्ययनमा मौसम तथा जलवायु तथ्यांक, जलप्रवाह तथा हाइड्रोलोजिकल तथ्यांक, हिमनदी तथा हिममण्डलसम्बन्धी तथ्यांक, भूगर्भीय तथा भूरूपात्मक सूचना, रिमोट सेन्सिङ तथा जिआईएस तथ्यांक प्रयोग गरिनेछ ।
त्यसैगरी घटनास्थलको स्थलगत अनुसन्धानमार्फत चट्टानको अवस्था, चिरा तथा कमजोर भू–भाग, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति, उपलब्ध अवसाद तथा त्यसको बहावमा भएको परिचालनलगायत विषयको अध्ययन गरिनेछ ।
विशेषगरी घटनाको स्रोत क्षेत्रमा रहेको चट्टानको आकार, क्षेत्रफल, सम्भावित आयतन तथा तौल, कति भाग खसेको थियो र चट्टान खस्नुको सम्भावित कारण के थियो भन्ने विषयमा विस्तृत अध्ययन गरिनेछ ।
जलवायु परिवर्तनको भूमिका पनि मूल्याङ्कन गरिने
अध्ययनमा घटनाअघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था तथा उच्च हिमाली क्षेत्रमा विद्यमान जलवायुगत अवस्थाको विश्लेषण गरिनेछ । दीर्घकालीन तापक्रम तथा वर्षाको प्रवृत्ति, चरम वर्षाका घटना, नदीको बहाव र पुनरावृत्ति अवधिसमेत मूल्याङ्कन गरिनेछ ।
हिमनदीको आकार तथा परिवर्तन, हिमनदीको मास ब्यालेन्स, हिमताल तथा हिमनदीय जलविज्ञान, जम्ने–पग्लिने प्रक्रिया र स्थायी तुषारभूमिको अवस्थासमेत अध्ययनको महत्वपूर्ण हिस्सा हुनेछ ।
यसबाट जलवायु परिवर्तनले घटनाका लागि आवश्यक पूर्व–अवस्था सिर्जना गरेको थियो कि थिएन र यदि गरेको भए त्यसको योगदान कति थियो भन्ने वैज्ञानिक रूपमा परीक्षण गर्न सकिने मन्त्रालयको अपेक्षा छ ।
बहु–जोखिमको श्रृंखलासमेत अध्ययन गरिने
रसुवा–भोटेकोशी घटना एउटै कारणबाट उत्पन्न भएको नभई हिममण्डलीय, भूगर्भीय, भूरूपात्मक तथा जलविज्ञानसम्बन्धी प्रक्रियाको क्रमिक अन्तरक्रियाबाट विकसित भएको हुन सक्ने भएकाले घटनाको सम्पूर्ण कार्य–कारण शृङ्खला अध्ययन गरिने प्रस्ताव गरिएको छ ।
सम्भावित श्रृंखलामा उच्च हिमाली क्षेत्रमा भएको परिवर्तन, चट्टान वा हिम–चट्टानको अस्थिरता, मास मुभमेन्ट, नदीमा अवसादको प्रवेश तथा परिचालन, पानी र अवसादको मिश्रित बहाव र त्यसको अनुप्रवाह प्रसारणलगायत प्रक्रियालाई एकीकृत रूपमा हेरिनेछ ।
अध्ययनबाट प्राप्त निष्कर्षले घटनाको वास्तविक प्रकृति र जलवायु परिवर्तनसँगको सम्बन्धबारे वैज्ञानिक आधार प्रदान गर्नुका साथै आगामी दिनमा हिमाली क्षेत्रमा उत्थानशील विकास, पूर्वाधार योजना र विपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण आधार तयार गर्ने मन्त्रालयको अपेक्षा छ ।






प्रतिक्रिया दिनुहोस्