काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रूपैयाँ विप्रेषण भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । राष्ट्र बैंकका अनुसार साउनमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रूपैयाँ रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो सङ्ख्या ४४ हजार ४६६ थियो ।
पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने बढेर २७ हजार ७४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्