काठमाडौं । सरकारको कुल सार्वजनिक ऋण पौने ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३–८४ को भदौ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको हो ।
असार मसान्तमा सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ थियो । यसअनुसार दुई महिनाको अवधिमा सार्वजनिक ऋण ८ अर्ब ६४ करोड रुपैयाँले घटेको छ । नयाँ ऋण उठाउनेभन्दा सावाँ भुक्तानी बढी भएकाले कुल सार्वजनिक ऋण घटेको कार्यालयले जनाएको छ ।
भदौसम्म सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ । सोही अवधिमा सावाँतर्फ ७० अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, विनिमय दरमा भएको परिवर्तनका कारण सार्वजनिक ऋणमा ४३ करोड ६३ लाख रुपैयाँ थपिएको छ । भदौ मसान्तसम्म सरकारको आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बाह्य ऋण भने १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा आन्तरिक ऋण २०.६३ प्रतिशत र बाह्य ऋण २४.४१ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण जिडिपीको ४५.०५ प्रतिशत बराबर पुगेको छ । चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । भदौसम्म ६१ अर्ब ५ करोड रुपैयाँ ऋण उठाइसकिएको छ। यो वार्षिक लक्ष्यको ९.२८ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये भदौसम्म ५० अर्ब रुपैयाँ उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको १२.२० प्रतिशत हो ।
बाह्य ऋणतर्फ भने २ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य छ । भदौसम्म ११ अर्ब ५ करोड रुपैयाँ बाह्य ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको ४.४५ प्रतिशत हो । भदौसम्म सरकारले उठाएको कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.८९ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.११ प्रतिशत रहेको छ ।
सरकारले साउनमा २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। भदौमा भने आन्तरिक ऋण उठाउने रकम बढाएर ३० अर्ब रुपैयाँ पुर्याएकाे छ । त्यस्तै, बाह्य ऋणतर्फ साउनमा ३ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएकोमा भदौमा ७ अर्ब २१ करोड रुपैयाँ प्राप्त भएको छ ।








प्रतिक्रिया दिनुहोस्