काठमाडौं । बाढी तथा पहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका विभिन्न प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले सेवा पुनः सञ्चालनका लागि मर्मत तथा पुनः स्थापनाको काम तीव्र बनाएको छ ।
प्युठान जिल्लामा अर्घाखाँचीबाट आपूर्ति हुँदै आएको ३३ केभी प्रसारण लाइन आज साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ । उक्त लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, लमही–झिमरुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुँडिएको कन्डक्टर पुनःतान्ने (रिस्ट्रिङ) काम भइरहेको छ । उक्त क्षेत्रमा पानी परिरहेकाले मर्मत कार्यमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । सो लाइन आज राति १० बजेसम्म सञ्चालनमा ल्याउने सम्भावना रहेको छ ।
१३२ केभी लाइन सञ्चालनमा आएपछि प्युठान जिल्लामा विद्युत् सेवा पूर्णरूपमा सुचारु हुने तथा रोल्पाको सदरमुकाम लिबाङसहित जिल्लाको पूर्वी क्षेत्रमा पनि विद्युत् आपूर्ति सञ्चालन हुने अपेक्षा गरिएको छ ।
रोल्पाको पश्चिमी क्षेत्र होलेरीमा विद्युत् सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ । उक्त क्षेत्रमा एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसँगै ढलेको तथा अन्य चार स्थानमा रुखले पोलसहित तार चुँडाएको पाइएको छ। क्षतिग्रस्त संरचनाको मर्मत भइरहेको र सो क्षेत्रमा भोलिसम्ममा विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी, रोल्पाको थवाङतर्फ जाने प्रसारण लाइनमा भने तुलनात्मक रूपमा ठूलो क्षति पुगेको छ । सडक अवरुद्ध भएकाले प्राविधिक तथा कर्मचारीको टोली प्रभावित क्षेत्रमा पुग्न समय लागेको छ। उक्त क्षेत्रमा भएको क्षतिको पूर्ण विवरणसमेत प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
रुकुम पूर्वमा सल्यान हुँदै आएको विद्युत् लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध भएको छ । पहिरोसँगै पोलहरू बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उक्त क्षेत्रमा पनि भोलिसम्ममा विद्युत् सेवा पुनःस्थापना गर्ने गरी काम अघि बढाइएको छ ।
हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोबाट विद्युत् आपूर्ति भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्