काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले आठ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लसहित भक्तबहादुर लामा, विष्णुमान लामा, गंगाबहादुर सिलवाल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की रहेका छन्।
प्रहरी स्रोतका अनुसार ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का प्रक्रियामा प्रभाव पार्ने गतिविधिबारे भइरहेको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
यसअघि सोही प्रकरणमा कालिका कन्स्ट्रक्सनसँग सम्बन्धित विक्रम पाण्डे पक्राउ परेका थिए। उनी अदालतको आदेशपछि धरौटीमा रिहा भइसकेका छन्। आषिश निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली पनि यसअघि पक्राउ परेर धरौटीमा छुटेका थिए।
प्रहरीले ई–बिडिङ ह्याक प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाएको बताएको छ। अनुसन्धानका क्रममा थप व्यक्तिहरूको संलग्नता देखिएपछि व्यवसायीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
पक्राउ परेका व्यवसायीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराउने तयारी गरिएको छ।
ई–बिडिङ प्रणाली ह्याक प्रकरणलाई सार्वजनिक खरिद प्रक्रिया र प्रतिस्पर्धात्मक ठेक्का व्यवस्थासँग जोडिएको गम्भीर साइबर अपराधका रूपमा हेरिएको छ। यस घटनाले सरकारी खरिद प्रणालीको सुरक्षा र पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्