काठमाडौं । दसैँ पछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासन प्रक्रियालाई तीव्र गर्ने भएको छ । धेरै समय देखि कम भएको निष्कासन प्रक्रियाले अब पूर्णता पाउने भएको हो ।
सेबोनका प्रवक्ता निरन्जय घिमिरेका अनुसार गत वैशाखदेखि रोकिएको साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिन थालिएको छ । गत वैशाख २ गतेपछि ठप्प बनेको आईपीओको अनुमति प्रक्रियालाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुनः अघि बढाएको उनले बताए ।
लामो समय अन्योल बनेको अनुमति प्रक्रिया असोज १६ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि औपचारिक स्वीकृति दिएको छ । यस कम्पनीले आईपीओ निष्कासनकाे लागि समय पनि निर्धारण गरिसकेको छ । निर्णयसँगै पूँजी बजारमा प्रवेश गर्न पाइपलाइनमा प्रतीक्षा गरिरहेका कम्पनीहरूका लागि पनि ढोका खुलेको छ ।
अब सेबोनमा परेको आवेदनका आधारमा कागजातहरू हेरेर क्रमशः आईपीओ निष्काशन अनुमति दिने सेबोनका प्रवक्ता निरन्जय घिमिरेले लगानी न्युजसँगको कुराकानीमा बताए । उनका अनुसार आगामी दिनमा प्रक्रिया पुरा गरेका अन्य कम्पनीहरूलाई पनि आईपीओ निष्काशनको स्वीकृति दिइने छ ।
कम्पनीहरूले तोकिएको कानुनी प्रक्रिया, मापदण्ड र नियामकीय सर्तहरू पूर्ण रूपमा पालना गरेपछि चरणबद्ध रूपमा निष्कासन स्वीकृति प्रदान गर्ने तयारी गरिएको घिमिरेले बताए ।
कति कम्पनी छन् लाइनमा ?
सेबोनमा हाल १११ कम्पनी आईपीओ ल्याउनको लागि पाईपलाईमा रहेका छन् । सेबोनमा ४९ करोड ५ लाख ५२० कित्ता सेयर आईपीओको पर्खाइमा रहेका छन् । कुल ७० अर्ब ६४ करोड ९८ लाख ८० हजार ८६९ रुपैयाँ बराबरको आईपीओ स्वीकृतिको प्रक्रियामा रहेका छन् ।
जसमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको आईपीओ रहेको छ । ३४ वटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन गरेका छन् । यस क्षेत्रका कम्पनीले कुल १६ करोड ८३ लाख ७६ हजार २३६ कित्ता सेयर निष्कासन गर्नको लागि सेबोनसंग अनुमति मागेका छन् ।
उत्पादन तथा प्रशोधन क्षेत्रका ३२ कम्पनीले आईपीओ ल्याउनको लागि बोर्डको स्वीकृतिको पर्खाइमा रहेका छन् । यस क्षेत्रको कम्पनीले कुल १७ करोड ४१ लाख ९१ हजार ३०३ कित्ता आईपीओ निष्कासनको लागि बोर्डको अनुमति कुरिरहेका छन् । यी क्षेत्रका कम्पनीले ३५ अर्ब ७१ करोड ४ लाख १३ हजार ६१० रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारीमा छन् ।
यसैगरी, होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनी पनि आईपीओ निष्कासनको तयारीमा छन् । यी क्षेत्रका कम्पनीले कुल ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । सेबोनले स्वीकृति दिँदा यस क्षेत्रलेमात्र ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने छन् ।
यसैगरी, लगानी समूहका ९ कम्पनी, माईक्रो इन्सोरेन्स कम्पनीका ३ कम्पनी र अन्य विभिन्न क्षेत्रका १५ कम्पनी आईपीओ ल्याउने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्