Skip to content

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

nabil
global ime

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसकेका छन् । बितेका चार वर्षदेखि उनी महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आएका छन् ।

“बिहान एक–डेढ घण्टा र साँझ ५ बजेपछि ड्रागन फ्रुट बिक्री गर्न साइकल लिएर बजारका गल्लीगल्लीमा पुग्छु”, पन्तले भने, “व्यापार गर्न गएको दिन दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म नाफा हुन्छ ।”

उनले स्थानीय बजारका साथै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट ड्रागन फ्रुट ल्याएर थोक तथा खुद्रा बिक्री गर्दै आएका छन् । “बजारमा यसको माग पनि उच्च छ । कार्यालय समयबाहेकको फुर्सद सदुपयोग गर्न यो व्यापारमा लागेको हुँ”, उनले भने, “यो व्यापार सुरु गरेपछि तलब पनि बचत भएको छ । घरखर्च यसैबाट चलेको छ ।”

पन्तले रोजगारीका लागि भारतलगायत अन्य मुलुक जाने युवा पनि घुम्ती व्यापारबाट प्रेरित हुनुपर्ने बताए । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनको जोड छ ।

“विदेशमा निम्नस्तरको काम गर्न पनि पछि नहट्ने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ”, उनले भने, “भारतमा मजदुरी गरिरहेका आफ्नै भाइ र बुहारीलाई पनि यही व्यापारमा लगाएको छु । बुहारीले पनि ड्रागन फ्रुट बेचेर मासिक ३० देखि ३५ हजारसम्म बचत गरेकी छन् । ” बजारको समस्या नरहेको बताउँदै उनले प्रतिकिलो ४५० देखि ५०० सम्ममा ड्रागन फ्रुट बिक्री गर्दै आएको जानकारी दिए ।

युवा वर्ग कृषि, व्यापारलगायत आयमूलक काममा लाग्नुपर्नेमा जोड दिँदै उनी सरकारीस्तरबाट पनि युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima