Skip to content

टाइमको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

nabil
global ime

काठमाडौं । नेपालको जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका लागि पैरवी गर्दै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्।

१०३ वर्षको इतिहास बोकेको अन्तर्राष्ट्रिय पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री वाग्ले समेटिएका हुन्।

विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान, नीतिनिर्माण तथा राजनीतिक नेतृत्वमा सक्रिय वाग्लेले पछिल्लो समय जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन्।

विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उनले जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रियस्तरमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि थालेको पहल तथा स्रोत व्यवस्थापनमा देखाएको सक्रियता महत्त्वपूर्ण मानिएको छ।

त्यस्तै, जलवायु परिवर्तनबाट प्रभावित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्न विद्यमान अन्तर्राष्ट्रिय प्रणालीमा सुधार गर्नुपर्ने विषयमा उनले राखेका विचारसमेत उनको प्रभावकारी भूमिकाका रूपमा उल्लेख गरिएको छ।

जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले यसको ठूलो असर भोग्नुपरेको सन्दर्भमा जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्ने प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

टाइमको सन् २०२६ को प्रभावशाली व्यक्तित्वको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम तथा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि समेटिएका छन्।

वाग्ले विश्वका प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुले नेपालको जलवायु सरोकार र अन्तर्राष्ट्रिय जलवायु न्यायको बहसमा नेपालको उपस्थिति थप चर्चामा आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T