Skip to content

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग

nabil
global ime

काठमाडौं । व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय रहेको बानेश्वर हाइटस्थित गोल्याण टावरको वातावरण शुक्रबार अरू दिनभन्दा फरक थियो । कार्यालयमा हुने नियमित चहलपहलभन्दा बालबालिकाको हाँसो, उत्साह र उमंग देखिन्थ्यो ।

कोही चित्र कोर्दै थिए भने कोही फेस पेन्टिङ र माटोका खेलौना बनाउन व्यस्त । कतिपय बालबालिका खेल जित्ने दाउमा थिए भने केही चाहिँ अडिटोरियम हलको रंगीचंगी दृश्य नियाल्दै थिए । कोही नयाँ साथीको नाम सोध्दै थिए त कोही परिचित साथीहरूसँग भलाकुसारी गरिरहेका थिए ।

अवसर थियो– अन्तर्राष्ट्रिय बालदिवस ।

गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले बालदिवसको अवसर पारेर गोल्याण टावरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जेनजी आन्दोलनका सहिदका बालबालिका र गोल्याण ग्रुपमा कार्यरत कर्मचारीका बालबालिकालाई सहभागी गराइएको थियो । कार्यक्रमको उद्देश्य केवल बालदिवस मनाउनु थिएन । बालबालिकालाई एउटै ठाउँमा भेट गराउने, परिचय गराउने, खेल्ने र रमाउने अवसर दिनु थियो । त्यही अवसरले गोल्याण टावर बालउमंगले भरिएको थियो ।

कार्यक्रममा विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएका थिए, जसको सहजीकरण गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति गैह्रेले गरेकी थिइन् । सीईओ गैह्रे पनि बालबालिकासँगै खेलमा सहभागी भइन् । कहिले खेल सिकाउँदै, कहिले बालबालिकालाई हौस्याउँदै र कहिले उनीहरूसँगै रमाउँदै उनले कार्यक्रमलाई थप आत्मीय बनाइन् ।

खेल सुरु भएपछि बालबालिकाको उत्साह झनै बढ्यो । जित्ने–हार्नेभन्दा पनि खेलमा सहभागी हुने, हाँस्ने र एकअर्कासँग रमाउने माहोलले मित्रतालाई प्रगाढ बनाउँदै लग्यो । ‘हरेक बालबालिका एउटा सुन्दर फूल हुन्, र सबै मिलेर यो संसारलाई सुन्दर बगैंचा बनाउँछन्,’ उनले भनिन्, ‘हामी हरेक बालबालिकाको सपनालाई उत्सवका रूपमा मनाउन, उनीहरूलाई जे पनि सम्भव छ भन्ने विश्वास दिलाउन, उनीहरूको मुस्कान जोगाउन र हरेक सानो मुटुलाई चम्किन दिन चाहन्छौं ।’ बालबालिकालाई सम्बोधन गर्दै उनले ठूलो लक्ष्य राख्न, ठूला सपना देख्न र सधैं आफूमाथि विश्वास गर्न उनले प्रेरणा दिइन् ।

गोल्याण टावरको एउटै हलभित्र फरक–फरक कथा उमंगित थिए । जेनजी आन्दोलनका सहिद परिवारबाट आएका बालबालिका र गोल्याण ग्रुपका कर्मचारीका बालबालिका एकै ठाउँमा थिए । खेल सुरु भएपछि सबै कथाहरू एउटै खुसीमा समाहित भए ।

पहिलो भेटमै मित्रता गाँसेका सहिदपुत्रीहरू सलोनी सुवेदी र सोनिया विश्वकर्माको कुर्सी खेल निकै रोमाञ्चक बन्यो । सोनिया पहिलो हुँदा सलोनी तेस्रो भइन् । तर दुवैको खुसी बराबर थियो । खेल सकिएपछि दुवै सँगसँगै फेस पेन्टिङ गर्नतिर लागे ।

गोल्याण ग्रुपका कर्मचारीका ४ वर्षीय छोरा अमूल्य केसी र सहिदपुत्र नेल्शन पराजुलीको पहिलो भेटमै भएको स्नेहपूर्ण घुलमिलले कार्यक्रमको औचित्यलाई थप मजबुत बनाएको थियो ।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण पनि कार्यक्रममा उपस्थित थिए । बालबालिकाको उत्साह र उनीहरूबीचको घुलमिललाई उनले नजिकबाट नियाले । बालबालिकाको हाँसोले भरिएको गोल्याण टावरले एउटा सन्देश दिइरहेको थियो– बाल्यकाल साझा खुसीको समय हो, जसले मिठो मुस्कान दिन्छ । अक्षय पनि केहीबेर बालबालिकाको मुस्कानमा मिसिए ।

गोल्याण फाउण्डेशनले जेनजी आन्दोलनका सहिदका बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति प्रदान गरेको छ । शैक्षिकवृत्ति योजनाअन्तर्गत सहिदका ३१ जना बालबालिकाको शिक्षाको दायित्व बहन गरेको छ । फाउण्डेशनले उनीहरूका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्दै आएको छ ।

फाउण्डेशनले गत वर्ष पनि अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा यस्तै कार्यक्रम आयोजना गरेको थियो । यस वर्ष भदौ २९ को राष्ट्रिय बालदिवस नुवाकोटको विदुरमा मनाइएको थियो । त्यहाँ भोटेकोशी बाढीबाट प्रभावित बालबालिकासँग उनीहरूले बालदिवस मनाएका थिए । फरकखाले पीडा भोगिरहेका बालबालिकाले सँगै बसेर बालदिवस मनाएका थिए ।

अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा आयोजित शुक्रबारको कार्यक्रमले त्यही निरन्तरतालाई अघि बढाएको छ, जसले बालबालिकालाई एकआपसमा जोड्ने र खुसी तथा आत्मीयता बाँड्ने अवसर दियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T