काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको साधारणसभा मङ्सिर २६ गते चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा बस्नेछ ।
सभामा रोयल फर्मास्युटिकल्सलाई १ः०.५७४ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ । प्रस्तावित स्वाप रेसियोअनुसार रोयल फर्मास्युटिकल्सको १ कित्ता सेयर बराबर ओम मेगाश्री फर्मास्युटिकल्सको ०.५७४ कित्ता सेयर प्रदान गरिनेछ ।
त्यस्तै, प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारीपत्र तथा त्यसमा भएका संशोधन, प्राप्ति समिति गठन, स्वतन्त्र मूल्याङ्कनकर्ता र कानुनी सल्लाहकारको नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र अन्तिम सहमतिपत्रलगायत प्राप्तिसम्बन्धी सम्पूर्ण कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
साधारणसभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि कम्पनीले मङ्सिर १५ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्