काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न देशबाट तरकारीको बिउ खरिद गर्न ३१ करोड ५० लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । भन्सार विभागको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार काउली, बन्दा, प्याज, गोलभेँडा, मुलालगायतका तरकारीको बिउ आयातमा उक्त रकम विदेशिएको हो ।
सरकारले तरकारीको बिउ आयात गरेर ३९ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्यांकअनुसार नेपालले सबैभन्दा बढी भारतबाट तरकारीको बिउ आयात गरेको छ । भारतबाट मात्रै अन्य तरकारीको बिउ १ लाख ७७ हजार ८११ केजी आयात भएको छ । यसको मूल्य ८ करोड ८८ लाख २० हजार रुपैयाँ रहेको छ ।
यस्तै, भारतबाट ६ हजार २१० केजी प्याजको बिउ आयत भएको छ । चारतबाट प्याजको बिउमात्र १ करोड २७ लाख २ हजार रुपैयाँबराबरको आयात भएको हो ।
काउलीको बिउ भने मुख्य रूपमा चीन, चिली र ताइवानबाट आयात भएको छ । चीनबाट ९१० केजी काउलीको आयात गरेको छ । आयात भएको काउलीको बिउको लागि नेपालबाट ४ करोड २६ लाख ७० हजार रुपैयाँमा रकम बाहिरिएको छ ।
यसैगरी, चिलीबाट ४४२ केजी काउली आयात भएको छ । यसको लागि लागि १ करोड ७३ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, ताइवानबाट २११ केजी काउलीको बिउ ७७ लाख ३ हजार रुपैयाँमा आयात भएको छ।
बन्दाको बिउ पनि नेपालले विभिन्न देशबाट खरिद गर्ने गरेको छ । अमेरिकाबाट ६६० केजी बन्दाको बिउ १ करोड ८७ लाख ८९ हजार रुपैयाँमा आयात भएको छ । इटालीबाट ६८० केजी बिउ १ करोड ३० लाख ८७ हजार रुपैयाँमा भित्रिएको छ । त्यस्तै, चिलीबाट १०० केजी बन्दाको बिउ ४२ लाख १ हजार रुपैयाँमा आयात भएको छ ।
गोलभेँडाको बिउ भारत र थाइल्यान्डबाट आयात भएको छ । भारतबाट ३० केजी गोलभेँडाको बिउ २२ लाख रुपैयाँमा र थाइल्यान्डबाट १३३ केजी बिउ १ करोड ४३ लाख ४१ हजार रुपैयाँमा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्याजको बिउ भारत, दक्षिण अफ्रिका, दक्षिण कोरिया र बंगलादेशबाट आयात भएको छ । दक्षिण अफ्रिकाबाट २०० केजी प्याजको बिउ ५७ लाख ४५ हजार रुपैयाँमा, दक्षिण कोरियाबाट ७६ केजी ८ लाख ५६ हजार रुपैयाँमा र बंगलादेशबाट २६ केजी १६ हजार रुपैयाँमा आयात भएको छ ।
मुलाको बिउ इटाली, चीन र बंगलादेशबाट आयात भएको छ । इटालीबाट १ हजार ५०० केजी मुलाको बिउ १६ लाख ९४ हजार रुपैयाँमा, चीनबाट ५० केजी २ लाख ३४ हजार रुपैयाँमा र बंगलादेशबाट ९ केजी ४ हजार रुपैयाँमा आयात भएको छ ।
अन्य तरकारीका बिउ पनि विभिन्न मुलुकबाट ठूलो परिमाणमा आयात भएका छन्। चिलीबाट २ हजार ५३५ केजी अन्य तरकारीको बिउ ४ करोड ३८ लाख ४६ हजार रुपैयाँमा आयात भएको छ । चीनबाट १३३ केजी बिउ ३३ लाख ४७ हजार रुपैयाँमा, जापानबाट २७७ केजी ९६ लाख ७८ हजार रुपैयाँमा र दक्षिण कोरियाबाट ६०० केजी ७७ लाख ६३ हजार रुपैयाँमा आयात भएको छ ।
त्यस्तै, इटालीबाट ३५९ केजी अन्य तरकारीको बिउ ३० लाख ९२ हजार रुपैयाँमा, थाइल्यान्डबाट २०० केजी २३ लाख ४६ हजार रुपैयाँमा, अमेरिकाबाट १३२ केजी ६८ लाख ३७ हजार रुपैयाँमा र डेनमार्कबाट २४ केजी ५ लाख ८८ हजार रुपैयाँमा आयात भएको छ । न्युजिल्यान्डबाट १०० केजी बिउ ९ लाख १३ हजार रुपैयाँमा आयात भएको छ ।
यसका अतिरिक्त मेक्सिकोबाट ५० केजी, होन्डुरसबाट २० केजी, नेदरल्यान्ड्सबाट २ केजी र थाइल्यान्डबाट २ केजी जडीबुटीजन्य बिउ पनि आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्