Skip to content

संघीय सरकारको निर्णयलाई चुनौती दिँदै खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार पनि कार्यालय खोल्ने

nabil
global ime

काठमाडौं । संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले सूचना जारी गर्दै मंसिर १३ गते आइतबारदेखि लागू हुने गरी गाउँपालिका तथा मातहतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरू आइतबार पनि सञ्चालन गर्ने जनाएको हो।

गाउँ कार्यपालिकाको मंसिर १२ गते बसेको १२१औँ बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचना उल्लेख छ।

गाउँपालिकाले आफ्नो भौगोलिक अवस्था, इन्धन खपत, स्वास्थ्य सेवाको संवेदनशीलता र नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई निर्णयका मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ।

गाउँपालिकाका अनुसार स्थानीय क्षेत्रमा सञ्चालित सवारीसाधनमा पेट्रोलियम पदार्थको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा न्यून रहेकाले इन्धन बचतका लागि आइतबार बिदा दिनु सान्दर्भिक नभएको निष्कर्ष निकालिएको हो।

त्यस्तै, आइतबार स्वास्थ्य संस्थाहरू बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी उपचार सेवाबाट वञ्चित हुनुपर्ने र आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ हुने भएकाले स्वास्थ्य संस्थाहरू नियमित सञ्चालन गर्नुपर्ने गाउँपालिकाको भनाइ छ।

नागरिकलाई प्रशासनिक तथा सार्वजनिक सेवा सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले पनि आइतबार कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

निर्णयअनुसार गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रबार भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सेवा प्रवाह हुनेछ।

यद्यपि, जाडोयामको समयावधि अर्थात् माघ १५ गतेसम्म भने आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

संघीय सरकारको सार्वजनिक बिदासम्बन्धी निर्णयबीच स्थानीय आवश्यकतालाई आधार बनाएर गाउँपालिकाले गरेको यो निर्णयले संघीय सरकार र स्थानीय तहबीचको अधिकार तथा निर्णय कार्यान्वयनको विषयलाई समेत चर्चामा ल्याएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T